काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ विषय राखेको छ । बैठकमा सहभागी शिशिर खनाल र सोबिता गौतमले आठ विषय राखेका हुन् । उनीहरुले रास्वपा समयमा नै निर्वाचन हुनुपर्छ भन्ने कुरामा पूर्ण प्रतिबद्ध मात्रै नभई तयार पनि रहेको जानकारी गराएका छन् । बैठकमा पार्टीकातर्फबाट राखेका आठ विषयलाई नेता खनालले यसरी उल्लेख गरेका छन्ः
१) जेनजीको विद्रोहपछिको विशेष परिस्थितिमा निर्माण भएको सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गर्नु हो । निर्वाचन नै जनादेशमार्फत संविधानलाई ट्रयाकमा ल्याउने सही उपाय पनि हो । त्यसअर्थमा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुदेखि नै सरकारलाई समर्थन जनाएको छ।
२) आगामी निर्वाचन फागुन २१ मा नै हुनुपर्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रुपमा प्रतिबद्ध छ।
३) भयरहित वातावरणमा चुनाव हुनुपर्ने आम चासोमा हाम्रो पनि सरोकार छ। आजको बैठकमा सरकार तथा सुरक्षा निकायहरूको तर्फबाट सुरक्षा प्रत्याभूति सहित चुनाव गराउन सक्छौं भन्ने प्रतिबद्धता आएको कुरालाई हामी स्वागत गर्दछौं।
४) निर्वाचन आयोग तथा नेपाल सरकारले मतदाता नामावली दर्तालाई राष्ट्रिय परिचयपत्रसँग जोडेर सहजीकरण गर्दै युवा मतदाताहरूलाई आमनिर्वाचनमा जोड्न गरेको प्रयासलाई हामी धन्यवाद भन्दछौं।
५) राजनीतिकर्मीको रूपमा हामीसँग हरेक भेटमा आम रुपमा सोधिने प्रश्न ‘निर्वाचन हुन्छ त भन्ने देखिन्छ ?’ यस अर्थमा निर्वाचनको वातावरण निर्माणमा सरकार तथा निर्वाचन आयोगले थप काम गर्नुपर्ने देखिएको छ। यसतर्फ हामी ध्यानाकर्षण गराउँछौं।
६) विदेशमा रहेका नेपाली तथा गैर जिल्ला भोटिङ लगायतका विषयहरू यही निर्वाचनबाट हुनेछ भन्ने कुराको हामी अपेक्षा राख्दछौं।
७) रास्वपा निर्वाचनमा होमिसकेको छ। हामी हाम्रै प्रणाली अन्तर्गत हाम्रो दलका तर्फबाट समानुपातिक उम्मेदवार हुन चाहने व्यक्तिहरूबाट दरखास्त लिइराखेका छौं र हामी प्रारम्भिक निर्वाचन मार्फत समानुपातिक उम्मेदवारहरू छनोटको प्रक्रियामा लागिसकेका छौं।
८) रास्वपा समयमा नै निर्वाचन हुनुपर्छ भन्ने कुरामा पूर्ण प्रतिबद्ध मात्रै होइन तयार पनि रहेको जानकारी गराउँछौँ।
