भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएका छन् । ठूलो संख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।

कम्पनीले अवरोधलाई प्राविधिक त्रुटि, प्रतिकूल मौसमी अवस्था र कामदारहरूको लागि नयाँ नियमलगायतका ‘अप्रत्याशित परिचालन चुनौती’का कारण आएको समस्या भनेको छ ।

भारतको उड्डयन निगरानी निकायले अनुसन्धानको आदेश दिएको छ र सोमबारदेखि जारी अवरोधलाई कम गर्ने योजनाका साथ इन्डिगोलाई प्रतिक्रिया दिन निर्देशन गरेको छ ।

उडान अवरूद्ध भएपछि बिहीबार हजारौँ यात्रु तथा उनीहरूका आफन्तले आफ्नो रिस सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै एक्समा आठ घण्टासम्म ढिलाइ हुँदासमेत ‘कुनै कर्मचारी’ सहयोगका लागि नआएको र विमानस्थलको अवस्था ‘पूर्ण अस्तव्यस्त’ बनेको बताए ।

बुधबारसम्म इन्डिगोका एक हजार २३२ उडान रद्द गरिएको कम्पनीले जनाएको छ । तर कति विमानको उडानमा ढिलाइ भयो भन्नेबारे कुनै संख्या स्पष्ट छैन । इन्डिगोले आफ्ना ग्राहकहरुलाई वैकल्पिक यात्रा व्यवस्था र फिर्ती प्रदान गरिरहेको जनाएको छ ।

कम्पनीले ‘उल्लेख्य रूपमा’ यसका विमानको उडान कार्यक्रम अवरोध हुनुमा आंशिक रूपमा नयाँ ‘क्रू रोस्टरिङ’ नियमसँगसँगै अन्य प्राविधिक कारणहरू जिम्मेवार रहेको उल्लेख गरेको छ ।

यात्रु सुरक्षा बढाउनका लागि चालक र चालक दललाई बढी आराम दिने लक्ष्य राखिएको यो नियम गत महिनादेखि सुरू भएको थियो । यो अवरोध समयनिष्ठतामा आफ्नो प्रतिष्ठा निर्माण गरेको ‘नो–फ्रिल्स क्यारियर’को लागि अर्को झट्का हो ।

गत साता एयरबसले विश्वभर छ हजार विमानको तत्काल अपग्रेडका लागि अलर्ट जारी गरेपछि इन्डिगोका २०० विमान प्रभावित भएका थिए । एक दिनमा करिब पाँचलाख यात्रुलाई हवाई सेवा दिने भारत विश्वको सबैभन्दा द्रुत बृद्धि भइरहेको उड्डयन बजारहरूमध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *