वाइडबडी विमान खरिद प्रकरणमा विशेषको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

प्रतिवादीहरू जीवनबहादुर शाही, सुगतरत्न कंसकार, शंकरप्रसाद अधिकारी, शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवनप्रकाश सिटौला, अच्युतराज पहाडी, रामहरि शर्मा सेढाई, जनकराज कालाखेती, प्रभाशकुमार कर्माचार्य, गणेशबहादुर चन्द, कर्णबहादुर थापा, सुवास रिजाल, रमेशबहादुर शाह, रवीन्द्रकुमार शेरचन, रवीन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, श्रवण रिजाल, पारस पौडेल, उमेश पौडेल र बृहतमान तुलाधरकोसहितलाई कैद सजाय तथा जरिवाना माग गर्दै अख्तियारले विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तर, विशेष अदालतले सुगतरत्न कंसकारलाई मात्रै २ वर्ष ६ महिना कैद र जम्मा बिगोको दामासाहीले हुने बिगो बमोजिम १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवाना गरेको थियो । उनको उमेर ७४ वर्षको रहेको देखिँदा ज्येष्ठ नागरिक ऐन बमोजिम ठहर भएको कैदमा ५० प्रतिशत छुट पाउने फैसला पनि विशेषले सुनाएको थियो ।

त्यसैगरी, प्रतिवादीहरू मध्येका शंकरप्रसाद अधिकारी, शिशिरकुमार ढुंगाना र बुद्धिसागर लामिछानेलाई आरोप दाबी बमोजिम कसुर गरेको ठहर गरी जनही १ वर्ष ६ महिना कैद र बिगो १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ कायम गरी जनही सोही बिगो बमोजिम जरिवाना हुने र जनही सोही रकम असुल उपर हुने फैसला विशेषले गरेको थियो ।

त्यसबाहेक प्रतिवादी शंकरप्रसाद अधिकारी विशिष्ट श्रेणीको सचिव पदमा कार्यरत रहेको देखिँदा उनलाई थप ३ महिना कैद सजाय सुनाइएको थियो । प्रतिवादीहरू दीपक शर्मा, क्रिस्टियन न्यूहलेनसहित कम्पनीका प्रतिवादीहरूलाई जनही १ वर्ष ६ महिना कैद र बिगो बमोजिम जरिवाना हुने तथा सोही रकम तिनीहरूबाट असुल उपर हुने फैसला विशेषको थियो । अन्य सबै प्रतिवादीहरूलाई विशेष अदालतले सफाइ दिएको थियो । सोही फैसलाविरुद्ध अख्तियार सर्वोच्च पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *