निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन तोकिएकै समयमा हुन्छः गृहमन्त्री अर्याल

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने बताएका छन् । मङ्गलवार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते नै निर्वाचन हुने दाबी गरेका हुन् ।

गृहमन्त्री अर्यालले सरकारको मुख्य जिम्मेवारी नागरिकलाई सुरक्षा प्रदान गर्दै र सुशासन कायम गर्नु र समयमै निर्वाचन गर्नु रहेको बताए ।

उनले भने, ‘यो सरकारको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्दै सुशासन कायम गर्नु र निर्वाचन गर्ने हो। सरकारले पाएको म्यान्डेड पनि चुनाव गर्नु नै हो । निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा चुनाव तोकिएकै समयमा हुन्छ।’

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए। उनले राजनीतिक दललाई निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन सरकार सक्रिय रहेको बताए ।

उनले भने, ‘यो सरकार सबैको साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौँ। कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन । निर्वाचनको वातावरण निर्माण गर्न प्रदेश सरकारको पनि उत्तिकै भूमिका रहेको छ।’

गृहमन्त्री अर्यालले राज्यका सबै संयन्त्र निर्वाचनको वातावरण निर्माण गर्न क्रियाशिल रहेको बताए। सुरक्षा अवस्थालाई विश्लेषण गरी आवश्यक कदम चाल्न सरकार तयार रहेको बताए ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की सहभागी छन् । गोष्ठीमा प्रदेशको समग्र सुरक्षाको अवस्था बारे छलफल हुनेछ भने फागुन २१ गते हुने आम निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *