काठमाडौं । सुनसरीको इनरुवा–कप्तानगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो ।
सूचनामा यो सडक निर्माणका लागि गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता तोडिएको उल्लेख छ । सडक स्तरोन्नतिका लागि जेभीसँग २ माघ २०७८मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित)ठेक्का सम्झौता भएको थियो ।
सम्झौता अनुसार सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गर्नुपर्नेमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ । ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक–पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यालय इटहरीले जनाएको छ ।

