कुनै वहानामा महाधिवेशन सार्ने चेष्टा नगर्न कांग्रेसको विशेष महाधिवेशन हस्ताक्षर अभियानको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन हस्ताक्षर अभियानले केन्द्रीय समितिबाट सोमबार पारित भएको नियमित महाधिवेशनको कार्यतालिका प्रथम दृष्टिमै अव्यावहारिक भएको बताएको छ ।

सोमबार अभियानका तर्फबाट जारी वक्तव्यमा अव्यावहारिक कार्यतालिका सार्वजनिक गरिएको र कुनै बहानामा महाधिवेशन अवरुद्ध पार्ने क्रियाकलाप भए विशेष महाधिवेशन कार्यान्वयन योग्य हुने चेतावनी दिएको छ ।

आफूहरूको हस्ताक्षरको दबाबकै कारण महाधिवेशनको कार्यतालिका सार्वजनिक भए पनि महाधिवेशन सकिने मितिभन्दा एक महिना धेरै केन्द्रीय समितिको म्याद थपिनु आफैँमा संशयपूर्ण रहेको आशय वक्तव्यमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको २०८२ मंसिर १५ गते बसेको बैठकले गरेको पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका र अन्य निर्णयहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामीले १५ औं महाधिवेशनलाई समयमै सम्पन्न गर्नुपर्छ भन्ने माग गत महासमिति बैठकदेखि स्पष्ट रूपमा राख्दै आएका छौं । गत भाद्र २३–२४ पछिको गम्भीर राजनीतिक संकटका बेला पनि हामीले तत्काल केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशनको ठोस कार्यतालिका बनाउनुपर्छ भनेर जोडदार आवाज उठाएका थियौं । तर, विडम्बना केन्द्रीय नेतृत्वले महाधिवेशनप्रति देखाएको उदासीनता र ढिलासुस्तीले पार्टीको आन्तरिक जीवनलाई गम्भीर सङ्कटतर्फ धकेलेको यथार्थलाई हामी सवैले महसुस गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *