काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशनमा कसैलाई प्रतिस्पर्धा गर्नबाट रोक्ने काम नहुने बताएका छन् ।
आइतबार ११ औं महाधिवेशनको लोगो सार्वजनिक गर्न आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनमा प्रतिस्पर्धा निषेध गर्ने काम नहुने बताएका हुन् ।
उनले महाधिवेशनमा मतदान गर्न नदिएर सर्वसम्मतिको नाममा कसैलाई आउनै नदिएर रोक्ने खालको काम नहुने बताए ।
उनले एकअर्कालाई खुइल्याउने काम नगरी सम्मानको संस्कृति विकास गर्नुपर्ने बताए । उनले भने, ‘प्रतिस्पर्धा खुल्ला हुन्छ, राम्रोसँग प्रतिस्पर्धा गर्न पाउँछ । सकेसम्म सहमति गरौं भन्ने हो । तर छाड्न पर्नेले सहमतिका साथ छाडौं, सहमतिका साथ जाऔं । एकअर्कालाई खुइल्याउने काम नगरौं ।’
अध्यक्ष ओलीले पार्टी कमिटीमा आवश्यकता अनुसार पुनर्गठन र पुस्तान्तरण हुने बताए । उनले भने, ‘महाधिवेशनबाट कमिटीमा स्वभाविक रूपमा केही परिवर्तन, हेरफेर हुन्छ । पुनर्गठन हुनुपर्छ, हस्तान्तरण, पुस्तान्तरण पनि हुन्छ, नगरौं भने पनि हुन्छ नै । तर आवश्यकता अनुसार हुन्छ ।’
उनले महाधिवेशनले पार्टीको सङ्गठनात्मक नीति र राजनीतिक प्रतिवेदन हेरफेर र परिवर्तन नहुने बताए । उनले भने, ‘यसअघि नै हामीले नीतिगत रूपमा देशको व्याख्या विश्लेषण गरेका छौँ । तीन महिना अघि नै हामीले काम, सफलता र कमी कमजोरीको समीक्षा गरेर राजनीतिक प्रस्ताव पारित गरेका छौँ । अहिले सङ्गठनात्मक नीतिमा कुनै परिवर्तन गर्नुपरेको छैन, भर्खरै विधान महाधिवेशनले गरेका छौँ । अब राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिरहनुपर्ने अवस्था छैन ।’
