-केशवप्रसाद भट्टराई
१. जेनजी विद्रोहका तीन माग सामाजिक सञ्जाल माथिको प्रतिबन्धको अन्त्य, सुशासन र भ्रष्टाचारको अन्त्य मध्ये एउटा प्रष्ट र परिभाषित माग भनेको सामाजिक सञ्जाल माथिको प्रतिबन्धको अन्त्य मात्रै थियो । माग प्रष्ट र परिभाषित थियो त्यसैले त्यो तत्काल पूरा पनि भयो ।
२. सुशासन कुनै राजनीतिक नाराको विषय होइन, आज आन्दोलन र भोलि सुशासन आइहाल्ने विषय होइन यो । यो राज्य, सरकार र राजनीतिक दलहरूले कठोर राजनीतिक संयम र आत्मानुशासन र सुष्पष्ट उच्चतहको राज्य नीति र कानुनी शासनको वर्षौँको निरन्तरको राज्य प्रतिवद्धतापछिको परिणाम हो । यस्तो सुशासन दिने दिने क्षमता वर्तमान नेपालमा राज्य र राजनीतिक दलहरूसँग छैन । स्पष्ट र परिभाषित रूपमा भन्दा सुशासनको पहिलो आधार भनेको निर्वाचित, उत्तरदायी र पारदर्शी सरकार हो ।
३. जेनजी विद्रोहले जन्माएको सरकारसँग सुशासनका यी तीन वटै आधारहुन सम्भव हुने कुरा पनि भएन । त्यसैले फागुन २१ को चुनावबाट देशलाई निर्वाचित, उत्तरदायी र पारदर्शी सरकार प्रदान गर्नु जेनजीहरूको प्रथम दायित्व हो ।
४. भ्रष्टाचार नेपालको पहिलो राष्ट्रिय महारोग हो र भ्रष्टाचार हुने रकमको परिमाण नेपालको कूल गाहस्र्थ उत्पादन भन्दा पनि बढी हुने गरेको अनुमान गरिन्छ । र यो रकमको ठूलो हिस्सा राजनीतिक उद्देस्य प्राप्तिमा खर्च हुने भएकोले यसमा नियन्त्रण नआउञ्जेल नेपालको राजनीति स्वच्छ र पारदर्शी हुन सम्भव नै छैन । नेपाल राजनीतिक रूपमा स्थिर, शान्त र समृद्ध हुने कुरै रहेन । तर पनि, नेपालको राजनीतिक, सामाजिक र राज्य संचालनको अभ्यासको विध्यमान स्थितिमा भ्रष्टाचारको अन्त्य एउटा दिवा स्वप्न मात्रै हो । सरकार र राजनीतिक दलहरू उत्तरदायी र अन्तर हृदय देखिनै प्रतिबद्ध भए भ्रष्टाचारलाई कम गर्न सकिन्छ निर्मूल गर्ने भनेको सस्तो र हावादारी गफ मात्रै हो ।
५. साँच्चै र झन्डै भ्रष्टाचार निर्मूल गरेका देशहरू भनेका स्वीडेन, डेनमार्क, फिनल्याण्ड जस्ता औंलामा गन्न सकिने मुलुकहरू मात्रै छन् विश्वमा । भ्रष्टाचार नियन्त्रण भनेको राजनीतिक र शासकीय विषय मात्रै नभएर उच्च तहको सामाजिक, सांस्कृतिक र नैतिक आचरण र अभ्यासको विषय हो । र हामीले प्राण पल लगाएर तपस्या र साधना नै गर्यौँ भने पनि कम्तीमा आधा शताब्दी लाग्ला नेपालबाट भ्रष्टाचार निर्मूल गर्न । र त्यसको लागि आरम्भ भने अहिल्यै गर्नु पर्ने देखिन्छ । र त्यो आरम्भ स्वच्छ छवि भएका व्यक्तिहरू समावेश निर्वाचित, उत्तरदायी र पारदर्शी सरकारबाट हुनु अपरिहार्य भए जस्तो लाग्दछ ।
६. र, अन्त्यमा तर महत्वपूर्ण–भदौ २३ र २४ गतेको हिंसा, हत्या, तोडफोड, आगजनी, कुटपिट र लूटपाट नियन्त्रण गर्न नसक्नु तत्कालीन सरकार र राज्यका सुरक्षा अङ्गहरूको चरम अक्षमता र अनुत्तरदायी कार्य र व्यवहार हो । त्यसको लागि जिम्मेवार व्यक्तिहरूलाई राज्यले जिम्मेवार बनाउनै पर्दछ । तर जेन जी आन्दोलनको नाउमा भएका ती सवै घटनामा जेनजी समूहका यो वा त्यो समूह संलग्न भएकोलाई नकार्न सकिन्न । जेनजी समूहका त्यस्तो हत्या,हिँसा,आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग गर्ने दायित्व जेनजी समूहको पनि हो, त्यसैले कम्तीमा ती सवै घटनाको नैतिक जिम्मेवारी लिने साहश जेनजी आन्दोलनका आफूलाई अगुवा दावी गर्नेहरूले स्वीकार गर्नु पर्दछ नै ।
७. तर जेनजी कुनै सङ्गठित राजनीतिक शक्ति होइन र हुन सक्दैन, कुनै उमेर समूह विशेषको कुनै राजनीतिक दल बन्न सम्भव छैन । अहिले सबैले जेनजी जेनजी भनेर उनीहरूलाई उकास्ने वा पुल्पुल्याउने तर उनीहरुका जायज सरोकारहरूबारे ओठे प्रतिबद्धता मात्र जताएर बस्ने राजनीति नगरेर उनीहरूका सरोकारहरूलाई कसरी आफ्नो नीति र कार्यक्रममा जोड्ने भनेर गम्भीर गृहकार्य गर्ने हो कि ?
