नेतृत्व पुस्तान्तरणको मुद्दा सुनवाइ नभएपछि विद्रोह गर्यौंः सुदन किराँती

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले पार्टीभित्र लामो समयदेखि नेतृत्वको पुस्तान्तरण र पार्टी रूपान्तरणको पक्षमा उठाएको मुद्दा सुनवाइ नभएपछि विद्रोह गरेको बताएका छन् ।

आइतबार राष्ट्रियसभा गृहमा पार्टी एकता सभालाई सम्बोधन गर्दै किराँतीले ३७ वर्षसम्म नेतृत्वमा रहेकाले जेनजी विद्रोहलाई अस्वीकार गरी वृद्धाश्रम बनाएकोले विद्रोह गरेको बताएका हुन् ।

उनले जेनजी युवाहरूको सडकमा रगतका टाटा सुक्न नपाउँदै प्रतिक्रान्तिको हुङ्कार दिन थाल्नु दुःखको विषय भएको बताए ।

उनले भने, ‘हामीले महाभारतका यदुवंशी सेना रोजेनौँ । हामीले बाबुराम, जनार्दन, राम कार्की र ओजस्वी भट्टराईजस्तो कृष्ण रोज्यौँ । हामीले लामो समयदेखि पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको मुद्दा उठायौँ । तर ती ठूला पार्टीका नेताहरूले हाम्रा मुद्दालाई वृद्धाश्रम खोल्नुभयो ।’

उनले आफूहरुले एक थान पार्टी मात्र खोल्न नचाहेको बताए । उनले भने, ‘हामीलाई नाङ्लो पसल खोल्नु छैन। जनताको सेवा गर्दै समस्या समाधान गर्ने विचार विधिसहितको शक्ति निर्णय गर्न खोजेका छौं।’

किराँतीले जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद अभिव्यक्ति भएको बताए । केही मानिसहरू म्युजिकल चेयर खेलेर देशलाई कंगाल बनाएर बसेको आरोप लगाउँदै उनले देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् अनि विदेशीलाई दोष लगाउने भन्दै प्रश्न गरे ।

उनले भने,‘उहाँहरू जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ । लाजपनि लजाउने गरी अभिव्यक्ति दिइरहनुभएको छ । हाम्रो पार्टी सम्पूर्ण रूपले त्यस्तो अभिव्यक्तिलाई खारेज गर्दछ । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी ? केही मानिसहरू म्युजिकल चेयर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *