-डा. रामकृष्ण तिमल्सेना ।
भारतीय सभ्यताको दीर्घ सांस्कृतिक इतिहास दुई विराट महाकाव्य रामायण र महाभारत द्वारा निरन्तर निर्देशित हुँदै आएको छ। यी दुवै ग्रन्थहरू समयको भिन्न भिन्न तरङ्गमा उभिएका छन्। रामायण त्रेतायुगको नैतिक आदर्शवादी जगतमा जन्मिन्छ भने महाभारत द्वापरयुगको जटिल यथार्थवादी संसारमा विकसित हुन्छ। समयरेखा मात्र फरक छैन, दुवैका दार्शनिक दृष्टिकोण पनि फरक छ। रामायण जीवनलाई मर्यादाको स्पष्ट नियमबाट बुझाउँछ भने महाभारत जीवनलाई धर्मको आडमा गहिरो र मनोवैज्ञानिक तरलताबाट व्याख्या गर्छ। यही समय दर्शनको अन्तरले दुवै ग्रन्थका पात्रहरू, कथानक, राजनीति, नैतिकता र जीवनबोधलाई नयाँ तरंग दिन्छ।
त्रेतायुगको प्रारम्भिक चरणमा समाज अझ सरल, मूल्य केन्द्रित र कर्तव्यअनुरूप चल्थ्यो। यस युगको मनोवैज्ञानिक आकाशमा राम जस्ता आदर्श पुरुष, लक्ष्मण जस्ता संयमी सहचर, सीता जस्ती पवित्रता प्रतिमूर्ति र हनुमान जस्ता भक्ति शौर्यका अवतारहरू स्वाभाविक थिए। रामायणको दर्शन यही वैदिक अनुशासनमा आधारित छ। धर्म भन्नाले स्पष्ट कर्तव्य हो, निर्णयहरू श्वेत श्याम जस्तै स्पष्ट थिए। परिवार, राज्य, समाज सबैको धर्मको सीमाना निश्चित र स्थिर थियो। राम, एक आदर्श राजा, आफ्नो व्यक्तिगत जीवनदेखि राज्य कर्तव्यसम्म सबै क्षेत्रलाई एकै मापदण्ड र मर्यादाले बाँधेर राख्छन्। यही मर्यादाकै कठोरताले उनलाई ‘पुरुषोत्तम’ बनाउँछ।
द्वापरयुगको कालरेखा भने जटिल छ। राजनीतिक प्रतिस्पर्धा, राज्यको उत्तराधिकार द्वन्द्व, गुरुवशिष्य विवाद, परिवारभित्रको ईर्ष्या, राज्यको नैतिक अवसान र युद्धको अपरिहार्यता। यही जटिलता महाभारतको दर्शनको मुटुमा छ। यहाँ ‘धर्म’ स्थिर नियम होइन, परिस्थिति निर्भर निर्णय हो। कृष्णको नीतिदर्शनमा ‘धर्मस्य तत्त्वं निहितं गुहायाम्’ धर्म गहिरो गुफा जस्तो छ, सतहमा देखिँदैन। अर्जुनको मोह, भीष्मको मौनता, द्रोणको मोह कर्तव्य द्वन्द्व, कर्णको परित्याग र प्रतिशोधको घाउ समेतबाट सबै पात्रहरूको मनोवैज्ञानिक रूपले जटील छन्।
समय दर्शनमा यो भिन्नता राम र रावण र कृष्ण र कंसका सम्बन्धमा पनि स्पष्ट देखिन्छ। रावण र कंस दुवै दानवाधिपति भए पनि उनीहरूको दर्शन, शक्तिको प्रयोग, मनोवैज्ञानिक संरचना र आध्यात्मिक पतन एक अर्काभन्दा निकै भिन्न छ।
रावण, त्रेतायुगको महाशक्तिशाली ज्ञानी, शिव भक्त, वेद ज्ञाता, संगीत विद्वान् र एक कुशल प्रशासक पनि थिए। उनको त्रुटि अहंकार र कामना हो, ज्ञानको दुरुपयोग हो। रावण दार्शनिक दृष्टिले पतनको पात्र होइन, पतन भएको ज्ञानी हुन्। उनी अधर्मको मार्गमा लागे पनि क्षमता, विद्वत्ता र तपस्याले भरिएका छन्। उनको अधोपतन एक मनोवैज्ञानिक तीव्रताको नतिजा हो। कामना नियन्त्रणमा असफलता, वासना द्वन्द्व, शक्ति मोह, र ‘अहं ब्रह्मास्मि’ को विकृत भाव। रावण आदर्शवादको युगमा जन्मेका कारण उनलाई पराजित गर्न राम जस्ता पूर्ण नैतिक शक्तिको आविर्भाव आवश्यक भयो।
कंस भने द्वापरयुगको राजनीतिक हिंस्रक मानसिकताको प्रतिनिधि पात्र हुन्। कंस न त वेद ज्ञानी थिए, न दर्शनका साधक, उनी डर, संशय, मानसिक असुरक्षा र राजनैतिक हिंसाको उपज हुन्। कंसको आतंक शारीरिक भन्दा मनोवैज्ञानिक छ। भविष्यको भविष्यवाणीले जन्माएको भय। कंस दर्शनका दृष्टिले रावणभन्दा धेरै ‘अपरिपक्व’ पात्र हुन्। उनमा असुर शक्ति छ, तर मनोविज्ञान दुरुबल छ। शक्ति प्राप्त भए पनि उनी आत्म नियन्त्रणहीन छन्, र शासनलाई नै आतंकद्वारा टेकेर राख्छन्।
रावणको पतन ज्ञानविहीन अभिमानको नतिजा हो, कंसको पतन भय मनोविज्ञानले लिएको असुरक्षाको परिणामथियो। रावण सैद्धान्तिक रूपमा शक्तिशाली, दार्शनिक रूपमा विराट, तर नैतिक रूपमा पतित देखिन्छ भने कंस राजनीतिक रूपमा हिंस्रक, मनोवैज्ञानिक रूपमा अस्थिर, आध्यात्मिक रूपमा रिक्त थिए।
यी दुई पात्रको तुलनाले रामायण र महाभारतको दर्शन कस्तो भिन्न संसारमा फैलिएको हो भन्ने प्रष्ट हुन्छ। रामायणमा रावण जस्तो पात्र पनि त्रुटि सहितको महान् व्यक्तित्व छ, जसलाई गलत निर्णयले नष्ट गर्यो; तर महाभारतमा कंस राज्य दुराचार, भय र अत्याचारको प्रतीक मात्रै।
अन्ततः समयरेखामा रामायण र महाभारत दुवै दार्शनिक विकासका दुई चरण हुन् । पहिलो चरणमा आदर्श नैतिकता, दोस्रो चरणमा जटिल राजनीतिक मनोवैज्ञानिक यथार्थ। यही कारण राम रावण र कृष्ण कंसका द्वन्द्वहरूले क्रमशः धर्मको रक्षा र धर्मको पुनर्स्थापना को फरक फरक मोडेल प्रस्तुत गर्छन्।
