हिमाली लोकसंस्कृति झल्किने ‘ट्रेसिङ दि हिमालय’ प्रदर्शनी

 

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा चोसर आर्टस् मुस्ताङको आयोजनामा शुक्रबारदेखि प्रतिष्ठानको कार्यालय नक्सालमा ‘ट्रेसिङ दि हिमालय’ कला प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालीपनको कला खोज्ने हो भने यस्तै लोकपरम्परामा भएका, नेपाली जन्मभूमिबाट उठेका सिद्धान्त र दर्शनका आधारमा सिर्जना भएका अवधारणामा बनेका कलाकृतिलाई खोज्नुपर्ने बताए । चार जना गतिशील युवाहरूले प्रदर्शन गरेका कलामा हिमाली लोकसंस्कृति तथा नेपालीपन झल्केको उनले उल्लेख गरे ।

हार्तम्छालीले भने, “हिमवत्खण्डका इथ्नोकग्निटिभ ज्ञानअनुरूप सिर्जित कला, सिर्जना तथा आफ्नो जन्मभूमिको नितान्त दर्शनका आधारमा बनेका स्वःकला प्रदर्शनमा राखिएका छन् । हिमाली कलासंस्कृति ओझेलमा परेका बेला यो प्रदर्शनी नमूना बन्न पुगेको विश्वास लिएका छौँ ।”

प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले हिमाली जनजीवनका अभ्यासमा रहेको परम्परागत ज्ञान प्रणालीमा आधारित कला सिर्जनाले हाम्रो मौलिक पहिचान जोडेको धारणा राखे ।
यसको संरक्षण तथा प्रवद्र्धनका लागि विद्यालय, कलेजका पाठ्यक्रममा पनि समावेश गरिनुपर्नेमा उनले जोड दिए ।

छोसेर आट्र्स मुस्ताङका निर्देशक छिरिङ फोन्जो गुरुङले काठमाडौँमा भइरहेको प्रदर्शनीमा हिमाली भेगका कलासंस्कृति समावेश गरिएको बताए ।

उनले हिमाली भेगका कलासंस्कृति कम देखिँदा सबैको नजर नपुगेको भन्दै सबैको ध्यान हिमाली कलामा जाओस् भन्ने उद्देश्य राखेर यो प्रदर्शनीको आयोजना गरिएको जानकारी दिइ । अहिले चार जना कलाकार मिलेर गरिएको यो प्रदर्शनी आगामी दिनमा अझै बृहत् रूपमा गरिने उनको भनाइ छ ।

प्रदर्शनीमा नितान्त हिमाली भेगका जनजीवनको आध्यात्मिक अभ्यास तथा सङ्घर्ष चित्रित गरिएको छ । मुगु, डोल्पा, सिन्धुपाल्चोक र मुस्ताङको दैनिक जनजीवन, सङ्घर्ष समसामयिक पक्षको दृश्यचित्रमार्फत यहाँ प्रस्तुत गरिएको छ । प्रदर्शनीमा हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकारहरूको कलाकृति छन्, जसमा छिरिङ फोन्जो गुरुङ (मुस्ताङ)का २०, तेन्जिङ आङ्डाक गुरुङ (डोल्पा)का १७, धोर्जे गुरुङ लामा (मुगु)का १८ र पेम्बा शेर्पा (सिन्धुपाल्चोक)का नौ कलाकृति रहेका प्रतिष्ठानले जनाएको छ ।

यहाँ विशेषगरी ल्यान्डस्केप र थाङ्कालाई राखिएका छन् । कार्यक्रममा हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने स्याबु्र नाचलगायत सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको थियो । प्रदर्शनी यही मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *