यक्रेन । पश्चिमी युक्रेनको टेर्नाेपिल शहरमा रुसी आक्रमणमा तीन बालबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको छ । रूसी आक्रमणले टर्कीमा शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रयासलाई ओझेलमा पारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ टर्कीमा हुने वार्तामा सहभागी नहुने भएका छन् ।
सन् २०२२ मा मस्कोले टेर्नोपिलमाथि हप्तौँसम्म आक्रमण गरेयता बुधबार भएको आक्रमण सबैभन्दा घातक र देशको पश्चिममा भएको सबैभन्दा ठूलो आक्रमण हो ।
आक्रमणपछि दर्जनौं उद्धारकर्ताहरू भग्नावशेषमा खोजी गरिरहेका प्रत्यक्षदर्शी पत्रकार तथा स्थानीयले बताएका छन्। ध्वस्त भएको भवनमा पुग्न पत्रकारहरूसमेतले क्रेनको प्रयोग गरेका थिए। बिहान ७ बजे विस्फोटको आवाज सुनिएपछि बाक्लो खैरो धुवाँको मुस्लोले सडक ढाकिएको थियो ।
टेर्नोपिल अधिकारीहरूले आगोका कारण हावामा क्लोरीनको स्तर सामान्यभन्दा छ गुणा बढेको बताएका छन् र शहरका करिब दुई लाख बासिन्दाहरूलाई घरमै बस्न र झ्यालहरू बन्द गर्न आग्रह गरेका छन्।
उद्धारकर्ताहरू पीडित सोभियत–कान अपार्टमेन्टको शीर्षतलामा पुग्न क्रेनहरूको सहायता लिएका थिए।
युक्रेनीे गृह मन्त्रालयले रुसले गरेको गोलाबारीका कारण तीन बालबालिकासहित २५ जनाको मृत्यु भएको जनाएको छ । घटनामा १५ बालबालिकासहित ७५ जना घाइते भएका छन् ।
युक्रेनको विदेश मन्त्रालयले बिहीबार न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा ‘भयानक हत्या’ लाई छलफलको बिषय बनाउन माग गरिने बताएको छ र अन्तर्राष्ट्रिय निन्दा गर्न आह्वान गरेको छ।
