जनकपुरधाम । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव सभाको दुई तिहाइ बहुमतले पारित भएको छ ।
बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । मण्डलविरुद्धको प्रस्तावको पक्षमा ७६ र विपक्षमा शून्य मत परेको थियो । १ सय ७ सदस्य रहेको प्रदेशसभामा दुईतिहाइ पुग्न ७२ मत चाहिन्छ ।
नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले अविश्वासको प्रस्तावको पक्षमा मत दिएका थिए । बैठकमा एमाले, राप्रपा र नेपाल संघीय समाजवादीका सांसद अनुपस्थित भए ।
गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए ।
