सिमरा घटना जेनजीको भावना होइन, त्यसको दुरुपयोग होः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बारामा पार्टीको कार्यक्रममा सहभागी हुन जान लागेका नेकपा एमालेका नेताहरुलाई रोक्न खोजिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

बुधबार बारामा पार्टीको कार्यक्रममा सहभागी हुन काठमाडौंबाट सिमरा जाने लागेका महसचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न सिमरा विमानस्थलमा जेनजीले अवरोध गरेको घटनाप्रति महामन्त्री शर्माले आपत्ति जनाएका हुन् ।

एमाले नेतालाई रोक्न जेनजीले प्रदर्शन गरेर अवस्था तनावपूर्ण बनेपछि सिमरा आसपासको क्षेत्रमा कफ्र्यु जारी गरिएको छ ।

महामन्त्री शर्माले भनेका छन्, ‘एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं । मधेस प्रदेशमा सही कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ । जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं । तर आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन । त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो ।’

महामन्त्री शर्माले यस्तो वातावरणले निर्वाचन हुन नसक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन्, ‘त्यसैले सिमरा घटना दुःखद ! प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण– एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? सामाजिक संजाल निषेध विरुद्ध उभिने जेनजी कसैको ’समाज भ्रमण अधिकार विरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजीको भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *