गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्नः लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?

काठमाडौं । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले फेरि गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरेका छन् ।

सामाजिक संजालमार्फत गुरुङले जेनजी आन्दोलनमा आदेश दिने कारबाही नगरेको भन्दै गृहमन्त्रीको आलोचना गरेका हुन् ।

उनले भनेका छन्, ‘आफूलाई संविधानविद भनेर चिनाउने, संविधानको कुन धारामा “सानालाई ऐन र ठूलालाई चैन“ लेखेको छ ? विधिको शासन लागू नहुने भने पुरानो शासन र अहिलेकोमा के फरक भयो गृहमन्त्रीज्यू ? ‘

यस्तो छ गुरुङको भनाई

दुर्गा प्रसाईले गरेका समाजलाई बिग्रहमा लग्ने र भड्काउने अभिव्यक्तिहरु खेदजनक छन् । मेरो नागरिकताको प्रतिलिपी लिएको मितिलाई नागरिकता प्राप्त गरेको मिति भनेर गलत प्रचार समेत गरेका थिए । तर दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने, काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँडेका छन् । शान्तिपूर्ण विरोध गर्ने युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन् । गृहमन्त्रीसँग तिनलाई त्यसरी नै समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट देखिएन ।

आफूलाई संविधानविद भनेर चिनाउने, संविधानको कुन धारामा ‘सानालाई ऐन र ठुलालाई चैन’ लेखेको छ ? विधिको शासन लागू नहुने भने पुरानो शासन र अहिलेकोमा के फरक भयो गृहमन्त्रीज्यू ? कलिला युवाहरुको रगत, पसिना र बलिदानीको बलमा खोक्रो भाषण दिने गृहमन्त्रीको कुर्सीमा बसेर उनीहरुलाई न्याय दिन्छु भन्ने र त्यही कुर्सीको बलमा ती युवाहरुलाई कारबाही गर्न छानबिन आयोगको प्रतिवेदन पर्खिन नपर्ने रहेछ । तर शक्तिशाली व्यक्तिहरु खुलेआम लोप्पा खुवाउँदै हिँडिरहेका छन् । र त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टासिंएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ? न्याय खोजिरहेका मृतक र घाइतेको उचित सम्बोधन र सबैलाई समान न्यायको प्रत्याभूति भए मात्र चुनाव सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *