पौवादुङ्माका ५२५ परिवारले पाए जस्तापाताको छानो

भोजपुर । नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ ।

गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो । गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

गाउँपालिकामा आवेदन दिएका ६९९ घरमध्ये हालसम्म ५२५ परिवारको छानो फेरिसकेको उनले जानकारी दिए । यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उनले जानकारी दिए । यस वर्षका लागि रु एक करोड २० लाख बराबरको बोलपत्र आह्वान भइसकेको छ ।

हालसम्म छानो फेर्नको लागि गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी रु दुई करोड ५० लाख खर्च गरिसकेको उनले बताए । गाउँपालिकाभित्रका मापदण्डमा परेका मध्येबाट छ वटै वडाका गरिक, विपन्न, ज्येष्ठ, एकल महिला तथा दलित परिवारलाई प्राथमिकतामा राखेर छानो हटाउने काम भइरहेको उनको भनाइ छ ।

नागरिकको सबैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरुलाई सहज र सुरक्षित रुपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटौती भएकाले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

“नागरिकको सबैभन्दा सुरक्षित स्थान आफ्नो घर हो”, अध्यक्ष राईले भने, “आर्थिक अवस्था कमजोर हुँदा कतिपय परिवार वर्षौँबाट चुहिने घरमा बस्दै आएका थिए । ती नागरिकहरुलाई स्थानीय सरकारको अभिभावकत्व प्रदान गर्न निःशुल्क जस्तापाताको छानो दिएका हौँ । नागरिकलाई सुरक्षित आवासको अनुभूति दिलाउने हाम्रो लक्ष्य हो ।”

आगलागीको जोखिम, मनसुनमा हुने चुहावटको समस्या र आगालागीका कारण बर्सेनि हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । यसले नागरिकमा एकरुपतासँगै फुसको छानोको कारण वनमा लागेको आगो बस्तीमा पस्दा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

अभियानअन्तर्गत वडा न १ श्याशिलाका १३१, वडा नं २ तिवारी भञ्याङका ७१, वडा नं ३ च्याङ्ग्रेका १०६, वडा नं ४ बास्तिमका १०४, वडा नं ५ सोनादुम्का १३२ र वडा नं ६ ठूलोदुम्माका १५५ परिवार गरी, ६९९ परिवारले जस्तापाताको छानो पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *