काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । मङ्गलबार राति भएको खेलमा मलेसियासँग १-० गोलले पराजित हुँदै नेपालले छनोटमा लगातार पाँचौं हार बेहोरेको हो ।
मलेसियाको बुकिट जलिल राष्ट्रिय स्टेडियममा भएको खेलमा मलेसियालाई जित दिलाउन फासिल अब्दुल हलिमले एक गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ५६ मिनेटमा अब्दुल हलिमले गोल गर्दै मलेसियालाई सुरुवाती अग्रता दिलाएका थिए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा मलेसिया १-० गोलले विजयी भएको हो । दोस्रो हाफको इन्जुरी समयमा लकेन लिम्बू रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नेपालले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।
जितसँगै मलेसिया पाँच खेलबाट १५ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ भने सबै पाँच खेलमा पराजित नेपाल पुछारमा रहेको छ ।
