काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो दिन अन्तर्गत भएको खेलमा विराटनगर किंग्स विजयी भएको छ । मंगलबार बेलुकी सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विराटनगरले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।
जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमात्र बनाउन सक्यो । पोखराको लागि कप्तान कुशल भुर्तेलले अर्धसतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३१ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५९ रन जोडे । यस्तै एडम रोसिङटनले ३९, दाङ डाउथवेटले २९ र अभिषेक तिवारीले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
विराटनगरको लागि सन्दीप लामिछाने, मर्चान्ट डे लान्गे, प्रतिष जिसी र शुभम रान्जानेले समान दुई/दुई विकेट लिँदा बासिर अहमद र सुर्य तामाङको नाममा एक/एक विकेट रह्यो ।
त्यसअघि किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो । जुन एनपीएलकै इतिहासको सबैभन्दा ठुलो योगफल हो । विराटनगरलाई विशाल योगफलमा पुर्याउन लोकेश र मार्टिन गुप्टिलले अर्धसतक पुरा गरे । लोकेशले ४८ बलमा सात छक्का र एक चौकाको मद्दतमा ७२ रन बनाए । गुप्टिलले ३५ बलमा पाँच छक्का र तीन चौकाको मद्दतमा ६१ रन बनाउँदा शुभम रामजानेले ३८ बासिर अहमदले २३, नारायण जोशीले ११ र जोर्ज मुनसेले १० बनाए ।
पोखराको लागि म्याट टेलरले दुई विकेट लिँदा कुशल भुर्तेल, सागर ढकाल र आकाश चन्दले समान एक/एक विकेट लिए ।
जितसँगै विराटनगरले दुई अंक जोडेको छ । आजै भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
