काठमाडौँ । सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमतिलाई रोजगारीको व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमति सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो ।
आज सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री खरेल र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सुजन मगियालाई कम्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे । विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा दृश्य कैद गर्दागर्दै एक घरभित्र आगजनीमा परी पत्रकार रजकको निधन भएको थियो ।
सञ्चारमन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार सङ्कलन गर्ने पत्रकारहरु सधैँ असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गरे । उनले भने, “पत्रकार सुरेशको क्रियाशील पत्रकारका रुपमा जोखिम मोलेर पत्रकारिता गरिरहेको सन्दर्भमा दुःखद निधन भएको छ । सुरेशका लागि केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयलाई लागिरहेको थियो र नेपाल पत्रकार महासङ्घले पनि आग्रह गरिरहेको सन्दर्भमा सानो रुपमा भए पनि रोजगारीको पहल गरिएको छ । यसले थोरै भए पनि सान्त्वना मिल्ने अपेक्षा छ ।”
सञ्चारमन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले परिवारका लागि निःशुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नसमेत पहल गरिने प्रतिबद्धता जनाए ।
दिवङ्गत पत्रकार सुरेश रजकका आफन्त पुरुषोत्तम मगियाले कार्यस्थलमा नै निधन भएका सुरेशको न्यायका लागि घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन, सहिद घोषणा गर्न र तीनकुनेमा रजकको सालिक निर्माणका लागि पहल गर्न आग्रह गरे ।
