सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न महासंघको माग

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले विधिको शासनको पूर्ण पालना र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग गरेको छ ।

गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को पदाधिकारीसँग आज नेपाल उद्योग वाणिज्य महासङ्घका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासङ्घले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठ र निजी क्षेत्रमाथि भएका विभिन्न आक्रमण, तोडफोड र त्यसले मुलुकको व्यावसायिक वातावरणमा पारेको असरबारे जानकारी गराएको थियो ।

सो अवसरमा आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरूले आन्दोलनका क्रममा निजी क्षेत्रले व्यहोरेको क्षति तथा अन्य विविध विषयमा जानकारी लिएका थिए ।

निजी क्षेत्रले व्यहोरेको क्षतिबारे जानकारी गराउँदै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस्ता घटना दोहोरिन नदिन निजी क्षेत्रको सुरक्षामा राज्य संयन्त्रको प्रभावकारी भूमिका हुनुपर्ने बताए ।

उनले भने, ‘निजी क्षेत्रले आफ्नो लागि मात्र काम गरेको हुँदैन । राजस्व र रोजगारीमा योगदान दिएको हुन्छ । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो भन्ने विषयलाई सरकार, आयोग, राजनीतिक दल तथा आमनागरिकहरूले पनि बुझ्न र बुझाउन आवश्यक छ ।’

आयोगका अध्यक्ष कार्कीले घटनाको सबै पक्षलाई समेटेर सत्य तथ्य प्रतिवेदन तयार पारिने र ती सुझावहरू भोलिका दिनमा नीति निर्माणमा उपयोगी हुने विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *