पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर, चार महिनामा ६ प्रतिशत मात्र खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको ६ दशमलव २१ प्रतिशत बराबर मात्रै विकास खर्च भएको हो ।

चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म २५ अर्ब ३१ करोड ३४ लाख बराबर मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।

यस अवधिको कुल सरकारी बजेट खर्च वार्षिक विनियोजनको २३ दशमलव ८७ प्रतिशत छ । चालु आवका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकामा पहिलो चौमासिकमा चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख खर्च भएको कार्यालयले जनाएको छ ।

चालुगत शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड वार्षिक विनियोजन रहेकामा हालसम्म २७ दशमलव १८ प्रतिशत अर्थात् तीन खर्ब २० अर्ब ९९ करोड २२ लाख खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकामा हालसम्म ३२ दशमलव ६७ प्रतिशत अर्थात् एक खर्ब २२ अर्ब ५८ करोड ३८ लाख बराबर खर्च भएको छ ।

यस अवधिको सरकारी राजस्व सङ्कलन तीन खर्ब ३३ अर्ब ३४ करोड बराबर छ । जुन वार्षिक लक्ष्यको २१ दशमलव ७२ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *