काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचन सरकारको राजनीतिक निर्णय वा इच्छामात्र नभएको बताएकी छन् ।
सोमबार नागरिक समाजका अगुवासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले संवैधानिक रिक्तता टार्न निर्वाचन अपरिहार्य राष्ट्रिय दायित्व भएको बताएकी हुन् ।
सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र जनतालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्न ‘तेस्रो शक्ति’ को रूपमा सक्रिय र निर्णायक भूमिका खेल्न प्रधानमन्त्रीले नागरिक अगुवाहरुलाई आग्रहसमेत गरिन् ।
उनले अहिले संवैधानिक अडान, प्रशासनिक तयारी र बढ्दो युवा असन्तुष्टि गरी ३ वटा संघर्षमा रहेको भन्दै उनले चुनावको विश्वसनीयताका लागि प्रमुख दलहरूलाई मंसिर १० गतेभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउनु पहिलो र अनिवार्य सर्त भएको बताइन् ।
उनले भनिन्, ‘सरकार ट्रयाक–टु संवादमार्फत विभिन्न दलहरुसँग विश्वासको वातावरण बनाउने काम गरिरहेको छ । तर, नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउन सहयोगका निम्ति अपील गर्दछु ।’
आफूहरूको प्राथमिकता सुरक्षा र सुशासन रहेको भन्दै उनले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिने उल्लेख गरिन् ।
जेनजी आन्दोलन यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति भन्दै प्रधानमन्त्रीले जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम आफूले देखेको बताइन् ।
उनले भनिन्, ‘उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचनसम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दैछौं । यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ ।’
युवा असन्तुष्टिको व्यवस्थापनसँगै ध्रुवीकरण र हिंसाले चुनावी वातावरण बिथोल्ने जोखिमतर्फ सचेत रहेको उनको भनाइ छ ।
उनले भनिन्,‘निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो–कोहीलाई पनि सम्बन्धित सक्षम निकायहरुले तत्काल र सार्वजनिक कारबाही गर्नेछन् । शान्तिपूर्ण मतदान सुनिश्चित गर्न ‘हट–स्पट’ नक्साङ्कन र गुप्तचर परिचालन बढाइएको छ । र, नागरिक खबरदारी झनै आवश्यक छ।’
बैठकमा नागरिक अगुवाहरू इन्द्रा अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा वाग्ले, दोभान राई, नयनतारा गुरुङ, नीर्घ नवीन, विजय तिमिल्सिना, खगेन्द्र संग्रौला, तुलानारायण साह, रेवती कार्की, शिशिर उप्रेती, दीपेश घिमिरे र राजुप्रसाद चापागाईंको सहभागी थिए ।
