काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करण आजबाट शुरु हुँदैछ । आठ टोलीको सहभागिता रहने लिगमा यसपटक धेरै कुरा नयाँ देख्न सकिनेछ ।
नेपाली क्रिकेटकै इतिहासमा पहिलोपटक घरेलू मैदानमा हुने खेलहरु फ्लड लाइटमा हुनेछ भने दर्शकको लागि १० हजार क्षमताको प्याराफिटपनि बनाइएको छ । आइतबार बेलुकी एक कार्यक्रमका बीच सरकारले राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल क्रिकेट संघ(क्यान)लाई स्टेडियम हस्तान्तरण गरेको थियो ।
सहरी विकास मन्त्रालयले निर्माण गरेको पहिलो चरणको काममा १० हजार क्षमताको प्याराफिट र ६ फ्लडलाइट राख्ने काम भएको थियो । त्यसैले यसपटक दर्शकले फ्लडलाइटमा खेलको मज्जा लिन सक्नेछन् । प्रतियोगिताको ३२ खेल मध्ये २३ खेल फ्लड लाइटमा हुने क्यानले जारी गरेको खेलतालिकामा उल्लेख छ ।
दिउँसोमा खेल हुँदा दर्शकको जमात थेग्न नसक्ने टियुले रातिमा खेल हुँदा सुरक्षाको दृष्टिकोणमा चुनौती थपेको छ । टिकट सार्वजनिक भएको २४ घण्टा नपुग्दै पहिलो खेलको टिकट सोल्डआउट भएको थियो । त्यसैलेपनि यसपटक टियुमा दर्शकको ओहिरो लाग्ने निश्चितनै छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ रु एक हजार ५०० राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ ।
प्लेअफपछिका खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियरतर्फ रु दुई हजार राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ ।
प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । गत सिजन सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
विदेशी खेलाडीको उल्लेखनीय सहभागिता
गत वर्ष झैँ यसपटकपनि एनपीएल खेल्न टेस्ट राष्ट्रसहित अन्य राष्ट्रबाट चर्चीत विदेशी खेलाडीहरु आउँदैछन् । विभिन्न फ्रेन्चाइज टोलीहरुले विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरिसकेका छन् । टोलीहरुले ४ देखि ६ जना सम्म विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।
गत वर्ष भारतका ओपनर शिखर धवनदेखि जिम्मी निशम, मार्टिन गुप्टिल लगायतले एनपीएल खेलेका थिए । यस पटकपनि फ्रेन्चाइज टोलीहरु विदेशी खेलाडी अनुबन्ध गर्न कुनै कन्जुसाई गरेका छैनन् । गत संस्करणमा झैँ यसपटकपनि आईसीसीले टेस्ट राष्ट्रबाट मात्र चार जना सक्रिय खेलाडी अनुबन्ध गर्न पाउने नियमको व्यवस्था गरेको थियो ।
नेपाल क्रिकेट संघ(क्यान)ले आठ फ्रेन्चाइज टोलीबीच गोलाप्रथा गरी चार टोलीलाई कोटा बाढेको थियो । उक्त गोलाप्रथामा कर्णाली याक्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भाग्यमानी चुनिएका थिए । शुक्रबार पोखराले जिम्मी निशमलाई अनुबन्ध गरेको सार्वजनिक गरेसँगै चार सक्रिय खेलाडीको टुँगो लागेको थियो । यस्तै दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, इम्रान ताहिर, वायन पर्नेल, क्रिस लेन, मार्टिन गुप्टिल, स्कट कुगेलेइन, डेविड मलान, गुल्बादिन नैब लगायत चर्चित खेलाडीहरु एनपीएल खेल्न नेपाल आएका छन् ।
कस्ता छन् आठ फ्रेन्चाइज टोली ?
काठमाडौं गोर्खाज
मार्की खेलाडी:- करण केसी
भीम शार्की, रशिद खान, प्रतिक श्रेष्ठ, दिपेश कडेल, मोहम्मद आदील अलाम, शाहाब अलाम, तुल बहादुर थापा, उत्तम थापा मगर, सन्तोष यादव, आकाश त्रिपाठी, सोनु देवकोटा
विदेशी खेलाडी:- रिकार्डो भास्कोन्सेलोस, जेर्हाड इरास्मस, जोन एन्ड्रिउ सिम्प्सन, सन्नी पटेल, बेन चार्ल्सवोर्थ, मिलिन्द कुमार
मुख्य प्रशिक्षक:- मोन्टी देसाई
जनकपुर बोल्ट्स
मार्की खेलाडी:- आसिफ शेख
अनिल कुमार साह, ललित नारायण राजवंशी, तुल बहादुर थापा मगर, विकाश आग्री, शुभ कान्साकर, सचिन भट्ट, रुपेश कुमार सिंह, किशोर महतो, मयान यादव, आदित्य महता, पाप्पु यादव
विदेशी खेलाडी:- लाहिरु मिलान्था, जान निकोल लोफ्टि- इटन, लाहिरु समरकोन, वायन पर्नेल, सन्जय कृष्णमुर्ती, संगीत कोरे, इम्रान ताहिर
मुख्य प्रशिक्षक:- शिभनराइन चन्द्रपल
चितवन राइनोज
मार्की खेलाडी:- कुशल मल्ल
रिजन ढकाल, विपिन रावल, दिपक बोहोरा, अमर सिंह राउटेला, रञ्जित कुमार, गौतम केसी, कमल सिंह एरी, देव खनाल, अर्जुन साउद, विपिन आचार्य, सौगात ढकाल
विदेशी खेलाडी:- रवि बोपारा, सोहिल तन्भिर, सैफ जैब, डेविड मलान, अल्पेश राम्जानी
मुख्य प्रशिक्षक:- कलम अली
विराटनगर किङ्स
मार्की खेलाडी:- सन्दीप लामिछाने
प्रतिष जिसी, लोकेश बम, बासिर अहमद, नरेन भट्ट, सुभाष भण्डारी, नारायण जोशी, सुर्य तामाङ, सहिल पटेल, शंकर राना, श्रावन किस्कु, आयुष न्यौपाने
विदेशी खेलाडी:- जर्ज मुन्से, मार्टिन गुप्टिल, शुभम सुभ्स रान्जाने, मर्चान्ट डे लान्गे, फाफ डुप्लेसिस, सामुअल डाली हेज्लेट
सुदूरपश्चिम रोयल्स
मार्की खेलाडी:- दीपेन्द्र सिंह एरी(कप्तान)
विनोद भण्डारी, अविनाश बोहोरा, दिपक बोहोरा, मिलन बोहोरा, हेमन्त धामी, इशाम पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, आरिफ शेख, हिक्मत महरा
विदेशी खेलाडी:- स्कट कुगेलेजन, क्रिस लिन, हर्मित सिंह, जोश ब्राउन
मुख्य प्रशिक्षक:- जगत टमटा
पोखरा एभेन्जर्स
मार्की खेलाडी:- कुशल भुर्तेल
आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, सागर ढकाल, विपिन खत्री, दिनेश खरेल, अर्जुन कुमाल, कृष्ण पौडेल, अभिषेक तिवारी, किरण ठगुन्ना, रोहित चन्द
विदेशी खेलाडी:- एडम रोसिङटन, रेनाब राइफर, डेन डाउठवेट, जिम्मी निशम, जेसन रोए
मुख्य प्रशिक्षक:- राजिव कुमार
कर्णाली याक्स
मार्की खेलाडी:- सोमपाल कामी, नन्दन यादव, गुलसन झा, अर्जुन घर्ती, पवन सर्राफ, विपिन शर्मा, दिपक डुम्रे, युवराज खत्री, दिपेन्द्र रावत, इम्रान शेख
विदेशी खेलाडी:- म्याक्स ओ,डोउड, मार्क वेट, विल बोसिस्टो, प्रियांक पंचाल, नाजिबुल्लाह जर्दान, जयकिशन कोल्सावाला
मुख्य प्रशिक्षक:- राजु बस्न्यात
लुम्बिनी लायन्स
मार्की खेलाडी:- रोहित पौडेल
सन्दीप जोरा, शेर मल्ल, दिलिप नाथ, सुमित महर्जन, दिनेश अधिकारी, तिलक भण्डारी, दुर्गेश गुप्ता, अभिशेष गौतम, आदील खान, विशाल पटेल, समिर अली
विदेशी खेलाडी:- थोमस ड्राका, ड’आर्सी शर्ट, गुल्बादिन नैब, रुबेन ट्रम्पेल्मन, जेजे स्मित
मुख्य प्रशिक्षक :- टिनु योहान्नान
उद्धाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दै
आज हुने उद्धाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे शुरू हुनेछ ।
दुवै टोलीको लक्ष्य जितसहित प्रतियोगिताको शुरुवात गर्ने हुनेछ । जनकपुर गत सिजनको च्याम्पियन टोली हो भने काठमाडौंले पाँचौ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।
जनकपुर यस सिजन उपाधि रक्षा गर्ने सुरमा हुनेछ भने काठमाडौं पहिलो पटक उपाधिको स्वाद चाख्न चाहन्छ । जनकपुरले गत सिजन काठमाडौंलाई पाँच विकेटले हराएको थियो ।
हेर्नुहोस् खेलतालिका

