काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री विजय खड्काले माओवादी र सात दलबीच भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त भएको बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत महामन्त्री खड्काले जेनजी आन्दोलनबाट नयाँ राजनीतिक कोर्ष सुरु भएको भन्दै १२ बुँदे सम्झौताको औचित्स समाप्त भएको बताएका हुन् । उनले भनेका छन्, ‘आज निर्वाचन आयोगवाट यो व्यवस्थाको प्रमुख सुत्राधार माओवादी केन्द्रको खारेजीसँगै दिल्लीमा दलहरू र माओवादीबीच गरिएको १२ बुँदेको सान्दर्भिकता र औचित्यता समेत समाप्त भएको छ ।’
उनले अब राजा, राजनीति दल र जेनजी पुस्ताबीच अविलम्ब नवीन समझदारी आवश्यक भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘जेनजी आन्दोलनबाट नयाँ राजनीतिक कोर्ष प्रारम्भ भएसँगै राजसंस्था पुनःस्थापनाको मुद्दा अझै पेचिलो बनेको छ । नयाँ पुस्ताले यो विषय गम्भीरतापूर्वक मनन गर्नु पर्दछ । भूराजनीतिक चपेटामा परेको मुलुकलाई जोगाउने र शक्ति सन्तुलन कायम गराउने एकमात्र अचुक अस्त्र राजसंस्था हो । यो विषयलाई कार्यान्वयन गर्नका निमित्त राजा, राजनीति दल र जेनजी पुस्ताबीच अविलम्ब नवीन समझदारी हुनुपर्दछ। मनन गरौं।’
