काठमाडौं । त्रिवि क्रिकेट मैदानमा निर्माण गरिएको प्यारापिट र ‘फ्लड लाइट’ नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हस्तान्तरण गरिएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले आइतबार साँझ ‘फ्लड लाइट’को ‘स्विच’ थिचेर क्यानलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले त्रिवि क्रिकेट रङ्गशाला नेपालमा चाँडोभन्दा चाँडोे सम्पन्न भएको योजना हुन पुगेको बताए । उनले सरकारबाट दोस्रो चरणको स्तरोन्नतिका लागि १० अर्बको गुरुयोजना र ठेक्का प्रक्रियाका लागि स्वीकृति दिइसकेको जानकारी दिए ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि रङ्गशालामा नेपाली क्रिकेटप्रेमीको नेपालमा नै अन्तरराष्ट्रिय क्रिकेट हेर्ने सपना पूरा हुने काम सुरु भएको बताए । उनले क्रिकेट सङ्घले तोकेका प्राथमिकताअनुसार क्रिकेट मैदान बनाउन राजनीतिक नेतृत्वसँग आग्रह गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेलप्रेमी नेपालीको सपना पूरा भएको बताउँदै अब दोस्रो चरणका संरचना निर्माण गर्न उत्तिकै प्राथमिकता दिन सरकारलाई आग्रह गरे ।
देशका अन्य भागमा पनि एनपिएल जस्ता खेल आयोजना गर्न सक्ने संरचना बनाउनुपर्ने उनको भनाइ थियो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले कीर्तिपुरको आँगनमा अन्तरराष्ट्रिय खेल हुनु समग्र कीर्तिपुरवासीकै गौरवको विषय भएको बताए ।
कार्यक्रममा निर्माणमा महत्वपूर्ण योगदानकर्तालाई मन्त्री घिसिङले सम्मानित गरेका थिए । देशमा नै पहिलोपटक आधुनिक प्यारापिट र ६ वटा फ्लड लाइटसहित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रङ्गशाल एनपिएलको दोस्रो संस्करणको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयले हस्तान्तरण गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको आन्तरिक खेल मैदानका रुपमा रहेको मैदान २०५५ सालदेखि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका रुपमा विकास गर्ने काम सुरु भएको हो ।
देशमा क्रिकेट खेलको मोह बढ्दै गएपछि पूर्ववर्ती केपी शर्मा ओली सरकारले गत २०८१ मङ्सिरमा मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा त्रिवि क्रिकेट रङ्गशालालाई प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रङ्गशालामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।
यसअन्तर्गत पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र रात्रिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी ६ फ्लड लाइट जडान गरिएका हुन् ।
सरकारले बनाएको गुरुयोजनाअनुसार दोस्रो चरणमा कुल २५ हजार दर्शक अट्ने तथा अन्तर्राष्ट्रियस्तरका सबै आधुनिक क्रिकेट सुविधासहितको रङ्गशाला बनाइने छ । यही क्रिकेट रंगशालामा भोलिदेखि नेपाल प्रिमियर लिग(एनपीएल) शुरु हुँदैछ ।
तस्बिर : प्रदीपराज वन्त/रासस






