मेक्सिको सिटी। राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन राजधानीमा हिंसात्मक रूप लिँदा शनिबार कम्तिमा १२० जना घाइते भएको एएफपीले जनाएको छ। घाइते हुनेमा धेरैजसो प्रहरी अधिकारीहरू रहेका छन्।
लागुऔषध हिंसा तथा सेनबामको सुरक्षा नीतिविरुद्धको प्रदर्शन ‘जेनेरेसन जेड’ का प्रतिनिधिहरूद्वारा सामाजिक सञ्जालमार्फत आह्वान गरिएको थियो। यद्यपि घटनास्थलमा विभिन्न उमेरका प्रदर्शनकारीहरूको उपस्थिति देखिएको थियो।
सन् २०२४ अक्टोबरदेखि सत्तामा रहेकी राष्ट्रपति सेनबामले आफ्नै कार्यकालको पहिलो वर्षमा ७० प्रतिशतभन्दा माथिको जनसमर्थन कायम राखेका छन्। तथापि, हालैका धेरै चर्चित हत्याकाण्डपछि उनको सुरक्षा नीतिमाथि निरन्तर आलोचना हुँदै आएको छ।
मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले पत्रकारहरूसँग कुरा गर्दै प्रदर्शन धेरै घण्टासम्म शान्तिपूर्ण रूपमा अघि बढेको तर हुड लगाएका केही व्यक्तिले हिंसात्मक गतिविधि सुरु गरेपछि झडप सुरु भएको जानकारी दिए।
भाजक्वेजका अनुसार १०० जना प्रहरी अधिकारी घाइते भएका छन्। तीमध्ये ४० जनालाई प्राथमिक उपचारपछि अस्पताल सार्न आवश्यक परेको थियो। साथै २० जना प्रदर्शनकारी पनि घाइते भएको पुष्टि गरिएको छ। अधिकारीहरूले डकैती, आक्रमण तथा एक पत्रकारमाथिको कथित आक्रमणसमेत विभिन्न आरोपमा २० जनालाई पक्राउ गरेको बताइएको छ।
धेरै प्रदर्शनकारीहरूले ब्यानरहरू बोकेका थिए र मिचोआकान राज्यको उरुपानका दिवङ्गत मेयर कार्लोस मन्जोप्रति ऐक्यबद्धता जनाउँदै उनको तस्वीरसहितको टोपी लगाएका थिए। मन्जो लागुऔषध तस्करी गर्ने समूहविरुद्ध कडा अभियान चलाउने नेताका रुपमा चर्चित थिए। यद्यपि, हत्या भएका मेयरकी विधवाले भने आफ्ना दिवङ्गत पति नेतृत्व गरेको आन्दोलनलाई शनिबारको विरोध प्रदर्शनसँग जोडिन नदिने स्पष्ट पारेका थिए।
मार्चमा सहभागी युवाहरूको ठूलो समूहले जापानी मङ्गा ‘वन पिस’ को समुद्री डाकू झण्डा पनि प्रदर्शन गरेको थियो, जुन हाल विश्वभरि युवा प्रतिरोधको प्रतीकका रूपमा फैलिएको छ।
यसैबीच, राष्ट्रपति सेनबामले केही दिनअघि आफ्नो नियमित पत्रकार सम्मेलनमा प्रदर्शनको उद्देश्य र प्रेरणामाथि प्रश्न उठाउँदै यसलाई ‘अकार्बनिक’ र ‘भुक्तान गरिएको’ गतिविधि भएको टिप्पणी गरेका थिए । उनले ‘यो सरकारविरुद्ध विदेशबाट प्रेरित गरिएको आन्दोलन हो’ भन्ने दाबी पनि गरेका थिए।
प्रदर्शनकारीहरू राष्ट्रपतिको निवास र कार्यस्थल रहेको राष्ट्रिय दरबार अगाडि जम्मा भएका थिए र त्यहाँ रहेको धातुको सुरक्षातारलाई भत्काएका थिए। सुरक्षाकर्मीहरूले भवन जोगाउन प्रदर्शनकारीहरूलाई रोक्न अश्रुग्यास तथा आगो निभाउने उपकरण प्रयोग गरेका थिए। केही प्रदर्शनकारीले ‘तपाईंहरूले कार्लोस मन्जोलाई यसरी नै जोगाउनुपर्ने थियो’ भन्दै सुरक्षाकर्मीमाथि चर्को नाराबाजी गरेका थिए।
सयौँ युवाले प्रहरीतर्फ ढुङ्गा, काठ तथा अन्य वस्तु फ्याँकेका थिए। त्यसको जवाफमा प्रहरीले ढाल प्रयोग गर्दै वस्तु नै फ्याँकेर भीडलाई पछाडि धकेल्ने प्रयास गरेको थियो।
