काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको भन्दै चर्चित अनुहारहरूलाई एकै ठाउँमा उभिन आह्वान गरेका छन् ।
आइतबार सामाजिक संजालमार्फत गुरुङले देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी रहेको बताएका हुन् । उनले बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकाललगायत समाजमा मन जितेका व्यक्तित्वहरूलाई एकै ठाउँमा आउन आह्वान गरेका छन् ।
उनले भनेका छन्, ‘छिट्टै नै परिवर्तन चाहने सबै नेपालीलाई एकजुट गर्न हामी यसको डिजिटल प्लेटफर्म पनि सार्वजनिक गर्नेछौं । अब दोस्रो चरण सुरु हुँदैछ । जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने । हामी सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल साथै समाजमा मन जितेका व्यक्तित्वलाई आह्वान गर्नु चाहन्छौं । हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ । तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस् । जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, त्यही गोरखा मन्दिरबाट हामी आशीर्वाद लिएर यो अभियान सुरु गर्नेछौं । राष्ट्रको हितका लागि, आगामी पुस्ताको भविष्यका लागि ।’
