देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताए । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका छन्।

उनका अनुसार आजको जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरेका छन् । यसैगरी रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरेका छन् ।

एमालेले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उनले बताए।

यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला  सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *