मोहनकुमार श्रेष्ठ ।
पार्टीको कुनै निर्णय अध्यक्षको निजी निर्णय हुँदैन । हाम्रो राप्रपामा अध्यक्ष कुनै निर्णयमा पुग्नुअघि अग्रजहरु र विषयसँग सम्बन्धित अन्य नेतृत्वहरुसँग छलफल गरेर मात्र बैठकमा एजेण्डा ल्याउने र निर्णय गर्ने चलन छ। आजसम्म राप्रपामा हरेक निर्णय सर्वसम्मत भएका छन्, मत विभाजन समेत गरिएको छैन, ‘नोट अफ डिसेन्ट’ समेत लेखिएको छैन । सर्वसम्मत नभएका वा हुन नसकेका विषयहरु अहिले नगरौं भनेर ’होल्ड’ गरिएका छन् वा हटाइएका छन्। राप्रपाको बैठक सञ्चालन गर्ने चरित्र यहि हो, बैठकका सहभागीहरु यसका प्रत्यक्षदर्शी हुन् ।
पार्टीको कार्यसम्पादन समितिको हरेक बैठकमा सहभागी हुने, अध्यक्षसँग धेरै नजिक रहेर हरेक एजेण्डाहरुमा ‘इन्पुट’ दिने काममा प्रत्यक्ष सहभागी भएर पार्टीले लिएका कार्यदिशामा सामाजिक सञ्जालमा प्रश्न गर्ने र जवाफ खोज्ने प्रवृत्ति अशोभनीय हुन्छ। राजनीतिक दलमा मात्र होइन कुनैपनि संघसंस्था, संगठनमा निर्णय हुनुअघि व्यापक बहस, छलफल, तर्क वितर्क गर्नु र निर्णय भएपछि निर्णयको स्वामित्व लिनु, निर्णयको प्रतिरक्षा गर्नु बैठकका सहभागीको धर्म हुन्छ।
केन्द्रीय कार्यसमितिको बैठक सधैं बसिरहन सम्भव पनि हुँदैन, यसपटक बैठक नबसेको अलिक बढी समय भएपनि निकटमा बस्दैछ, कार्यसम्पादन समितिको बैठक भने बसिरहेकै छ। हामी कोही जिम्मेवार व्यक्तिहरुले पार्टीसँग सम्बन्धित विषयलाई अध्यक्षको निजी विषय र निजी निर्णय जस्तो गरी सामाजिक सञ्जालमा धारणा दिने कार्यले देश विदेशका पार्टी सदस्य, शुभेच्छुक शुभचिन्तक भ्रमित बन्न पुग्ने, पक्ष विपक्षमा विभाजित बन्न जाने, राप्रपा बनोस् भन्ने चाहना राख्नेलाई चिन्तित तुल्याउने छ।
सबै पार्टीमा विवाद छ, राप्रपा पनि विवादबाट मुक्त छैन भन्ने देखाउन जरुरी छैन। इतिहासको दिशा बदल्ने भयानक राजनीतिक कार्यभार बाँकी रहेको राप्रपालाई देशको अग्रणी राष्ट्रवादी शक्ति बनाउन हामी भित्र एकताको खाँचो छ, बाहिर रहेका तर छरिएर रहेका देशभक्त, राष्ट्रवादीहरुलाई मुलप्रवाहमा समाहित गर्नुछ र यथास्थितिको विरुद्धमा दरिलो धक्का दिनुछ। यो कार्यभार हाम्रो एकता र सामुहिक प्रयासबाट मात्र सम्भव छ।
राप्रपाको सदस्य भएकै कारण राजनीतिक आस्थाका आधारमा ज्यान गुमाएका शहीदहरुको सपनाको पार्टी बनाउन, अवस्था र व्यवस्था बदल्न, देशको सार्वभौमिकता, स्वतन्त्रता, एकता र अखण्डता अक्षुण्ण राख्न र भावी पुस्तालाई सुन्दर र सग्लो नेपाल हस्तान्तरण गर्न हाम्रो पुस्ता र विशेषगरी यतिबेला यो कर्ममा क्रियाशील हामी सबै गम्भीर बन्नैपर्छ । यो अप्ठ्यारो परिस्थितिमा हामी जिम्मेवार बनेनौं भने इतिहासले हामी कसैलाई माफी दिनेछैन। सोचौं है । सबैको जय होस् ।
श्रेष्ठ राप्रपाका प्रवक्ता हुन् ।
