दक्षिणी पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा । पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु हुनुको साथै २४ जना घाइते भएका छन् ।

दक्षिणी पेरुको अरेक्विपामा भएको दुर्घटना दक्षिण अमेरिकी राष्ट्रमा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो । पेरुलाई चिलीसँग जोड्ने पानामेरिकाना सुर राजमार्गको एक भागमा बिहानै यो घटना भएको थियो । ‘हामीसँग ३७ जनाको मृत्यु भएको र २४ जना घाइते भएका जानकारी प्राप्त भएको छ,’ अरेक्विपाका क्षेत्रीय स्वास्थ्य प्रबन्धक वाल्थर ओपोर्टोले भने ।

लामोसस कम्पनीले सञ्चालन गरेको बस कारवेली प्रान्तको चालाबाट अरेक्विपातर्फ जाँदै थियो । बसमा ६० जना यात्रु सवार थिए । स्थानीय मिडिया रिपोर्टका अनुसार आपसमा दुई सवारी साधन ठक्कर खाएपछि गाडी लगभग २०० मिटर (६५० फिट) गहिरो खोँचमा खसेको थियो भने पिकअप ट्रक सडक नजिकै पल्टेको थियो ।

अत्यधिक गति, खराब सडकको अवस्था, ट्राफिक सङ्केतको अभाव र अधिकारीहरूको कमजोर कार्यान्वयनका कारण पेरूमा ट्राफिक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *