भागरथी भट्टको बलात्कारपछि हत्या भएको नौ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेन

बैतडी।     दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको नौ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन। माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते लवलेक जंगलमा शव फेला परेको थियो।

प्रहरीले दोषीको नजिकै पुगिसकेको र छिट्टै सार्वजनिक गर्ने बताउँदै आएको छ। घटनाको बृहत् अनुसन्धान र अध्ययनपछि दोषी पत्ता लगाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कल डिटेललगायतबाट आफूहरु दोषीको नजिक पुगिसकेको उनको दाबी छ। ‘विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौं,’ उनले भने, ‘छिट्टै दोषी सार्वजनिक हुन्छ।’

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिए पनि सामूहिक हो वा एकजनाले अपराध गरेको भन्ने पुष्टि हुन सकेको छैन। भागरथीको भजाइनल स्वाब संकलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएका र रिपोर्ट आएपछि मात्रै उक्त कुरा खुल्ने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ। उनले भने, ‘घटनास्थलमा भेटिएका प्रमाणहरु पनि प्रयोगशालामा पठाएका छौं, त्यसबाट थप कुरा थाहा हुन्छ।’

घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ। उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका बरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिकहरु रहेका छन्।

यता, दोषीलाई सार्वजनिक नगरिएको भन्दै भागरथीका आफन्त तथा स्थानीय आन्दोलित भएका छन्। गाउँपालिकामा गठन गरिएको संघर्ष समितिले यसअघि शैक्षिक हड्ताल, चक्काजाम र प्रदर्शन गरेको थियो। जिल्लामा गठन गरिएको संघर्ष समितिले आन्दोलनका कार्यक्रम पनि जारी रहेका छन्।

माघ २६ गते दीप प्रज्ववलन, २७ गते सिट्ठी जुलुस, २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २९ गते सदरमुकाममा प्रदर्शन, ३० गते थाल ठड्याइएको छ। फागुन १ गते घण्टा बजाउने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ। भागरथीको हत्यारा पत्ता नलाग्दासम्म आन्दोलनका कार्यक्रम जारी रहने भागरथी भट्टको न्यायका लागि गठित संघर्ष समितिका सदस्य महेश दत्त भट्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *