काठमाडौँ । नेकपा एकीकृत समाजवादी छाडेर नेकपा एमाले प्रवेश गरेकी रामकुमारी झाँक्रीले विगतमा आफूले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने बताएकी छन् ।
सोमबार राष्ट्रिय सभागृहमा एमालेको घर फर्क अभियान कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले आफूले एमाले र अध्यक्ष ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने भन्दै आफूले पाउने सजाय पनि समयले नै दिने बताएकी हुन् ।
उनले भनिन्, ‘म भविष्यलाई त्यसको प्रमाणित गर्ने र त्यसकाप्रति मबाट भएका कुराको एक प्रकारको सजाय पनि समयलाई नै तोक्न र दिन छुट दिन्छु ।’
झाँक्रीले जेनजी आन्दोलनको जिम्मा लिनेहरुले सिंहदरबार र सर्वोच्च अदालत जलेको पनि जिम्मा लिनुपर्ने भन्दै अहिले जेनजी आन्दोलनका स्टकहोल्डर र एमाले ध्रुवीकरण भएको बताइन् । उनले एमाले छोडेर भएको क्षतिपूर्तिका लागि पिठ्यूँ थाप्ने बताइन् ।
उनले जेनजी युवाहरुलाई एमालेमा सामेल हुन आह्वान गरिन् । उनले जेन–जीका मागहरू सही भए पनि तिनको नाममा केही सीमित वर्गले रोटी सेक्ने काम गरेको तर्क गरिन् ।
उनले भनिन्, ‘जेनजी आन्दोलनका स्टेक होल्डरहरू नजानिँदो ढंगले आफूलाई दाबी गरिरहेका छन् । चाहे त्यो नेकपा माओवादी, वा कांग्रेसको एउटा हिस्सा होस्, चाहे रास्वपा, राप्रपा वा विभिन्न प्रकारको स्वतन्त्र अभियान चलाउनेहरू हुन् । जेनजी आन्दोलन पछिल्लो पुस्ताको सामान्य आक्रोश थियो । रोटी सेक्नका लागि जेनजी आन्दोलन भर्सेस नेकपा एमाले बनाइएको छ ।’
