झापा । झापाको शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
फाइलन खेलको पूर्वसन्ध्यामा आइतबार रङ्गशालामा परिसरमा आयोजित ‘प्रि–म्याच कन्फ्रेन्स’मा दुवै टोलीले उपाधिमा आ–आफ्नो दाबी प्रस्तुत गरेका हुन् । दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधि रक्षाका लागि रूपमा तयार रहेको बताए ।
“हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन”, एपिएफका प्रशिक्षक जीवेश पाण्डेले भने, “यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौँ ।”
एपिएफकी कप्तान अनिता बस्नेतले झापाको मैदानमा पुलिसलाई रोक्दै अर्को उपाधि थप्ने बताइन् । खेलमैदान र दर्शकको उपस्थिति उत्साहजनक रहेको बताउँदै उनले जित–हार स्वाभाविक भए पनि जित निकाल्नमै टोलीको ध्यान केन्द्रित हुने उल्लेख गरिन् ।
नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले एपिएफलाई पाखा लगाउँदै उपाधि रक्षा गर्ने दाबी गरे । रेखा पौडेल र पूजा राना मगरको तालमेलमाथि टोलीले मुख्य भरोसा गरेको उनले बताए ।
“हाम्रो टोलीमा धेरैपछि रेखा र पूजा सँगै खेलिरहेका छन् । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले यसपटक हामी एपिएफलाई हराउँदै उपाधि जित्नेछौँ”, प्रशिक्षक सिलवालले भने ।
“हामीले विगतमा धेरै पटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यस पटक बदला लिँदै ट्रफी लिएर जानेछौँ”, पुलिसकी कप्तान अमृता जैसीले भनिन्, “विगतका पराजयको बदला लिँदै झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ ।”
प्रतियोगिताको विजेताले १० लाख १० हजार, उपविजेताले पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
