-डा. रामकृष्ण तिमल्सेना ।
लोकतन्त्र आजको युगको सबैभन्दा चर्चित शासन प्रणाली हो। यसको मूल आदर्श जनसत्ता, समानता र स्वतन्त्रता हुन्। जनताको मत, अधिकार र सहभागिता यसको आत्मा हो भनेर हामीलाइ भनिन्छ। तर जब सतहको आवरण खोलिन्छ, तब यसको भित्री संरचना शक्ति र स्वार्थको खेलबाट बनेको देखिन्छ। लोकतन्त्र प्रायः एउटा सुन्दर आवरण (mask) हो जसको भित्र शक्ति संरचना (power structure) को कठोर वास्तविकता लुकेको हुन्छ।
दार्शनिक दृष्टिले लोकतन्त्र आदर्शको रूपमा आवश्यक छ, किनभने यसले जनताको स्वतन्त्रता र निर्णय अधिकारको परिकल्पना गर्छ। तर राजनीतिक व्यवहारमा त्यो स्वतन्त्रता संरक्षित नियन्त्रणको रूप लिन्छ।म्याकियाभेलीले ‘शासन कला’ लाई रणनीतिक छलको रूपमा वर्णन गरे, फूकोले शक्ति सर्वत्र व्याप्त हुन्छ भने, र मिचेल्सले ‘oligarchy’ अर्थात् सानो समूहको शासन नै लोकतन्त्रको अन्तिम परिणति हो भने। यी सबैले एउटै कुरा औंल्याएका छन् कि लोकतन्त्रका संस्थागत रूपहरू जनताको नाममा शक्तिको वैधता दिलाउने औजार हुन्।
लोकतन्त्रमा जनताको मत हुन्छ, तर शक्ति जनतामा रहँदैन। शक्ति व्यवस्थामा, दलबन्दीमा, नीतिनिर्मातामा, र पूँजीमा केन्द्रित रहन्छ। मतको प्रयोग जनता गर्छन्, तर त्यसको नतिजा शक्ति धारणकर्ताको हातमा पुग्छ। यसरी लोकतन्त्रले जनताको शासन होइन, जनताको नाममा शासन वैध बनाउने माध्यमको रूपमा काम गर्छ। यो ‘participatory illusion’ हो जहाँ जनता सहभागी देखिन्छन्, तर निर्णयप्रक्रियाको नियन्त्रण अरूका हातमा रहन्छ।
शक्ति सधैं गतिशील हुन्छ। आधुनिक युगमा यो खेल अझ सूक्ष्म र मनोवैज्ञानिक भएको छ। आज मिडिया, प्रविधि र डाटाको नियन्त्रण नै शक्ति हो। जनताको धारणा र सोच निर्माण गर्ने माध्यमहरू त्यही शक्तिका हातमा छन्। यसले लोकतन्त्रलाई मनोवैज्ञानिक नियन्त्रण प्रणालीमा रूपान्तरण गरेको छ जहाँ स्वतन्त्रताको अनुभूति हुन्छ, तर नियन्त्रण झन् गहिरो हुन्छ। जनताको चाहना नै रणनीतिक रूपमा निर्माण गरिन्छ, त्यसैले जनमत पनि शक्तिको औजार बन्छ।
नेपालमा पनि लोकतन्त्रले आवरणको रूप लिएको छ। संविधान, निर्वाचन र दलगत प्रतिस्पर्धा बाह्य रूपमा जनताको सत्ता देखिए पनि भित्रि शक्ति सन्तुलन दलका नेताहरू, गठबन्धन, र स्वार्थका समीकरणमा केन्द्रित छ। सरकार गठन, नीति निर्माण, र नियुक्ति प्रक्रियामा जनताको सहभागिता भन्दा पनि दलगत स्वार्थ र राजनीतिक सौदावाजी बढी निर्णायक हुन्छ। लोकतन्त्रको आवरणले यहाँ पनि सत्ताको निरन्तरता र वैधता सुरक्षित गर्छ।
तर यो सम्पूर्ण स्वरुप निराशाको होइन। आवरणमा भएको लोकतन्त्रलाई सार्थक बनाउने जिम्मा सचेत नागरिकको हो। जब जनता केवल मतदाता होइन, सचेत निरीक्षक र प्रश्नकर्ता बन्छन्, तब आवरण भित्रको शक्तिखेल कमजोर हुन थाल्छ। लोकतन्त्र तब मात्र साँचो हुन्छ जब शक्ति खेलको पर्दा जनताको दृष्टिमा पारदर्शी हुन्छ।
अन्ततः लोकतन्त्र दुई रूपमा जीवित छ । आदर्शको रूपमा सुन्दर र व्यवहारमा जटिल। यसको आवरण हटाउँदा सत्ताको यथार्थ प्रकट हुन्छ; तर त्यो आवरण नै जनचेतना र स्वतन्त्रताको आशाको प्रतीक पनि हो। त्यसैले प्रश्न सधैं रहन्छ । लोकतन्त्र जनताको शासन हो, कि जनताको नाममा शक्ति धारणकर्ताको शासन? उत्तर खोज्ने जिम्मा नागरिक चेतनामा निहित छ, जसले आवरणभित्रको सत्य देख्ने साहस गर्छ।
दार्शनिक रुपमा लोकतन्त्र केवल शासन प्रणाली होइन, यो चेतनाको अवस्था पनि हो। जब मानिस आफ्नो विचार स्वतन्त्र रूपमा गर्न, प्रश्न गर्न, र सत्य बोल्न सक्षम हुन्छ त्यहीँबाट साँचो लोकतन्त्र सुरु हुन्छ। सत्ता र संरचनाले बाँधेको लोकतन्त्र अस्थायी हुन्छ, तर चेतनाले निर्मित लोकतन्त्र स्थायी हुन्छ। शक्ति सधैं केन्द्रित हुन खोज्छ, र चेतना सधैं फैलिन खोज्छ ।लोकतन्त्रको आत्मा चेतनाको विस्तारमा बस्छ । जहाँ निर्णय केवल मतपत्रबाट होइन, विवेकबाट हुन्छ।जब नागरिक प्रश्न गर्न डराउँदैन, तब सत्ता डराउन थाल्छ।त्यो क्षणमै लोकतन्त्रको आवरण च्यातिन्छ र साँचो जनशक्ति जन्मिन्छ।
शक्तिखेलको संसारमा नैतिकता र विवेक नै सबैभन्दा ठूलो प्रतिरोध हुन् किनकि शक्ति सधैं नियन्त्रण चाहन्छ, तर चेतनाले स्वतन्त्रता खोज्छ। यसैले लोकतन्त्रको अन्तिम उद्देश्य शासन परिवर्तन होइन, मानिस परिवर्तन हो । मानवलाई जागृत बनाउने, उसलाई आफ्नो अस्तित्व र जिम्मेवारीको बोध गराउने। लोकतन्त्रको आवरणले हामीलाई देखाउँछ कि बाहिरी स्वतन्त्रता पर्याप्त छैन।वास्तविक स्वतन्त्रता भित्रको स्वतन्त्रता र सत्य बोल्ने साहस हो, र त्यो साहस नै साँचो लोकशक्ति हो।
