इलन मस्कको तलब १ ट्रिलियन डलर

बीबीसी । अमेरिकी विद्युतीय सवारी कम्पनी टेस्लाका प्रमुख कार्यकारी इलन मस्कलाई करिब १ ट्रिलियन डलर (७६० अर्ब पाउन्ड) बराबरको तलब प्याकेज कम्पनीका शेयरधनीहरूले स्वीकृत गरेका छन् ।

बिहीबार टेक्सासमा भएको टेस्लाको वार्षिक साधारणसभामा प्रस्तुत उक्त प्रस्तावलाई ७५ प्रतिशत मतले पारित गरिएको थियो ।

विश्वकै सर्वाधिक धनी व्यक्तिहरूमध्ये एक मस्कले आगामी १० वर्षभित्र कम्पनीको बजार मूल्य उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेछ। लक्ष्य पूरा भएमा उनले सयौँ मिलियन नयाँ सेयर पाउनेछन्।

विशाल पारिश्रमिक योजनाको आलोचना भइरहेको छ। तर टेस्ला सञ्चालक समितिले मस्कले सम्झौता अस्वीकृत भए कम्पनी छाड्न सक्ने चेतावनी दिंदै उनलाई गुमाउने जोखिम लिन नसकिने जनाएको छ।

मत परिणाम घोषणा भएपछि मस्क अष्टिनस्थित मञ्चमा पुगे र दर्शकहरूको बीच नाच्दै खुसी व्यक्त गरे। ‘हामी टेस्लाको भविष्यको नयाँ अध्याय होइन, नयाँ किताब लेख्न लागेका छौं,’ उनले भने।

मस्कले आगामी दशकमा आफ्नो पारिश्रमिक पाउन टेस्लाको बजार मूल्य हालको करिब १.४ ट्रिलियन डलरबाट ८.५ ट्रिलियन डलर पुर्याउनुपर्नेछ। साथै, १० लाख स्वचालित ‘रोबोट्याक्सी’ सवारी व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य पनि उनले पूरा गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *