बहुमत किन कमजोर र अल्पमत किन शक्तिशाली हुन्छ ?

-डा. रामकृष्ण तिमल्सेना ।

राजनीतिक शक्ति सधैं सङ्ख्यामा नभई चेतनामा, संगठनमा र संस्थागत नियन्त्रणमा निहित हुन्छ। इतिहासका हरेक चरणले देखाएको छ कि सङ्ख्यात्मक दृष्टिले बहुमतले शक्ति पाउनुको सट्टा, अल्पमतले सशक्त भूमिका निर्वाह गर्दै आएको छ। यो एउटा विरोधाभासजस्तो देखिए पनि, राजनीतिक विज्ञान, समाजशास्त्र, मनोविज्ञान र दार्शनिक दृष्टिबाट यसको गहिरो तर्कसंगत कारण पाइन्छ।

१. संरचनात्मक कारण : सङ्गठन र चेतनाको असमानता

प्रथम, राजनीतिक संरचनाको दृष्टिबाट हेर्दा अल्पमत प्रायः अत्यधिक संगठित, शिक्षित र उद्देश्य–केन्द्रित हुन्छ। उनीहरूका स्वार्थहरू स्पष्ट, साझा र योजनाबद्ध हुन्छन्। जबकि बहुमत विविधता, विभाजन र अन्तरविरोधले भरिएको हुन्छ। समाजमा वर्ग, जात, धर्म, विचारधारा र क्षेत्रीय भिन्नताका कारण बहुमत एकीकृत रूपमा कार्य गर्न असमर्थ रहन्छ। म्यानकुर ओल्सनले आफ्नो पुस्तक The Logic of Collective Action मा भनेका छन् कि ‘सङ्गठित अल्पसंख्यकले असङ्गठित बहुसंख्यकलाई सधैं जित्छ।’ यही सिद्धान्तले राजनीतिक शक्ति वितरणको यथार्थ प्रकट गर्छ।

२. मनोवैज्ञानिक र समाजशास्त्रीय पक्ष:

मनोवैज्ञानिक दृष्टिबाट बहुमत प्रायः प्रतिक्रियाशील र नेतृत्व निर्भर हुन्छ। गुस्टाभ ले बोनले The Crowd: A Study of the Popular Mind (1895) मा जनसमूहको मनोविज्ञान विश्लेषण गर्दै लेखेका छन् कि भीडले स्वतन्त्र निर्णय गर्ने क्षमता गुमाउँछ र भावनामा बग्दछ। त्यसैले थोरै सचेत, योजनाबद्ध र आत्मविश्वासी समूहले ठूलो भीडलाई सहजै नियन्त्रण गर्न सक्छ। यसको विपरीत, अल्पमतले नेतृत्वको चेतना, उद्देश्य र रणनीतिक योजना बनाउने सामर्थ्य राख्दछ।

३. ऐतिहासिक उदाहरणहरू : भारतदेखि विश्वसम्म:

इतिहासका धेरै चरणमा अल्पमतले बहुमतमाथि शासन गरेको पाइन्छ।
(क) भारतमा मुस्लिम शासनको उदाहरण
दिल्लीका सुल्तान (१३औँ–१६औँ शताब्दी) र पछि मुगल शासन (१५२६–१८५७) का समय मुस्लिम शासकहरू संख्यात्मक रूपमा अत्यन्तै सानो अल्पसंख्यक थिए, जबकि भारतमा हिन्दूहरू ठूला बहुमतमा थिए। तर त्यतिबेलाको मुस्लिम शासकवर्ग अत्यन्त संगठित, सैनिक दृष्टिले बलियो र प्रशासनिक दृष्टिले दक्ष थियो। उनीहरूले कर प्रणाली, सैन्य संरचना, र धार्मिक सहिष्णुताको (विशेष गरी अकबरको ‘सुलह–ए–कुल’ नीतिले) प्रयोग गरी विशाल बहुसंख्यक हिन्दू जनतालाई नियन्त्रणमा राखे। यसरी अल्पमतले शक्ति कायम राख्न संगठन, प्रशासन र वैचारिक रणनीतिको उपयोग गर्‍यो।

(ख) ब्रिटिश औपनिवेशिक शासन:

ब्रिटिशहरू भारतमा अत्यन्त न्यून संख्यामा रहेका थिए । सन् १८५७ को आसपास सम्पूर्ण भारतमा ब्रिटिश नागरिकको सङ्ख्या पाँच हजारभन्दा पनि कम थियो। तर उनीहरूले सम्पूर्ण उपमहाद्वीपलाई शासन गरे। कारण स्पष्ट छ – ब्रिटिशहरू अत्यन्त संगठित, प्राविधिक रूपमा सक्षम, र प्रशासनिक संयन्त्रमा दक्ष थिए। उनीहरूले स्थानीय विभाजनहरू (जात, धर्म, भाषा, क्षेत्र) लाई उपयोग गरी ‘Divide and Rule’ नीतिद्वारा बहुमतलाई एक हुनबाट रोके।

(ग) दक्षिण अफ्रिकाको अपार्थाइड शासन

१९४८ देखि १९९४ सम्म दक्षिण अफ्रिकामा गोरा अल्पसंख्यकले कालो बहुमत जनसंख्यालाई नियन्त्रणमा राख्यो। केवल १५ प्रतिशत गोरा जनसंख्या प्रशासन, सेना, र अर्थतन्त्रमा केन्द्रित भएकाले राज्य सञ्चालनमा पूर्ण अधिकार राख्थ्यो। बहुमत भने जातीय, क्षेत्रीय र वर्गीय भिन्नताका कारण लामो समयसम्म विभाजित रह्यो।

(घ) फ्रान्सेली क्रान्तिपूर्वको शासन र यूरोपका कुलीन वर्गहरू:

फ्रान्समा क्रान्तिपूर्व (१७८९ अघि) कुलीन वर्ग केवल २ प्रतिशत थियो, तर उनले सम्पूर्ण सत्ता, सम्पत्ति र कानुनी विशेषाधिकार कब्जा गरेको थियो। बहुमत किसान र श्रमिक वर्ग राजनीतिक रूपले असंगठित र अचेत रहँदा सानो कुलीन समूहले शासन सम्भव बनायो।

(ङ) चीनमा कम्युनिस्ट पार्टीको उदाहरण

आधुनिक चीनमा पनि जनसंख्या दृष्टिले बहुमत विविध छ, तर सत्ता एक सङ्गठित, विचार-केन्द्रित र अनुशासित राजनीतिक दल (Chinese Communist Party) को हातमा केन्द्रित छ। यसले देखाउँछ कि संगठित अल्पसंख्यकले ठूलो जनसंख्या भएका देशमा पनि दीर्घकालीन नियन्त्रण कायम गर्न सक्छ।

४. सैद्धान्तिक दृष्टिकोणहरू:

पारेतोले The Circulation of Elites (1916) मा भनेका छन्स’ङ्गठित अल्पसंख्यकले असङ्गठित बहुसंख्यकलाई सधैं जित्छ।’ रोबर्ट मिचेल्सले आफ्नो ‘Iron Law of Oligarchy’ (1911) मा लेखेका छन् ‘जो जहाँ संगठन बनाउँछ, त्यहाँ अनिवार्य रूपमा अल्पमतको शासन जन्मिन्छ।’ यसरी लोकतन्त्र पनि समयक्रममा अल्पसंख्यकको नियन्त्रणमा पुग्ने स्वाभाविक प्रक्रिया हो। सी. राइट मिल्सको The Power Elite (1956) अनुसार सेना, राजनीति र व्यवसायिक क्षेत्रका सानो समूहहरू एक अर्कासँग जडित रहन्छन् र राज्यका मुख्य निर्णयहरू नियन्त्रण गर्छन्।

दार्शनिक तहमा प्लाटोले Republic मा तर्क गरेका छन् कि बहुमतले इन्द्रिय र वासनाको अधीनमा निर्णय गर्छ, जबकि ज्ञान र विवेकको स्वामित्व अल्पमत (दार्शनिक राजा) सँग हुन्छ।
मार्क्सवादी दृष्टिकोणमा भने अल्पमत (बुर्जुवा वर्ग) शोषकको प्रतीक हो, जसले बहुमत (प्रोलतेरियत) लाई झुठो चेतनाद्वारा दबाइराख्छ।

५. शक्ति प्राप्तिका माध्यमहरू

अल्पमतले शक्ति कायम राख्न विभिन्न माध्यम प्रयोग गर्छ:
१. ज्ञान र सञ्चारको नियन्त्रण -जनमत र सूचना प्रवाह नियन्त्रित हुन्छ।
२. आर्थिक प्रभाव -पूँजी, लगानी र स्रोत–साधनको नियन्त्रण।
३. सङ्गठन र नीति-संरचना -कानुनी र प्रशासनिक संयन्त्र आफ्नो अनुकूल बनाउने।
४. मनोवैज्ञानिक र वैचारिक प्रभुत्व – बहुमतलाई निर्भर र असहाय बनाउने सामाजिक संस्कार।

६. बहुमतको चेतना र पुनरुत्थान:

कहिलेकाहीँ बहुमत सचेत हुन्छ : जसरी फ्रान्सेली क्रान्ति, भारतीय स्वतन्त्रता आन्दोलन, वा दक्षिण अफ्रिकाको मुक्ति सङ्ग्राममा भयो। तर सफलतापछि पनि नयाँ शासक अल्पसंख्यक उदय हुन्छ, जसले पुरानो चक्रलाई निरन्तरता दिन्छ। यसलाई पारेटोले ‘शक्तिको चक्रिय संचार’ (Circulation of Power) भनेका छन्।

७. चेतनाको जागरण नै शक्ति:

बहुमतको कमजोरी संख्यात्मक नभई संगठनात्मक, बौद्धिक र नैतिक चेतनाको अभावमा निहित छ। अल्पमतको शक्ति त्यसको विपरीत उच्च संगठन, स्पष्ट उद्देश्य र निरन्तर रणनीतिमा आधारित हुन्छ। यस विरोधाभासको समाधान तब मात्र सम्भव हुन्छ जब बहुमत संख्याबाट चेतनामा रूपान्तरित हुन्छ , जब नागरिक बोध, शिक्षा र आत्म संघटनले जनतालाई स्वतन्त्र, विवेकी र सक्रिय बनाउँछ।
थोमस जेफरसनका शब्दमा ‘Eternal vigilance is the price of liberty.’ स्वतन्त्रता र शक्ति दुवैका लागि बहुमतले मात्र पुग्दैन, चेतना पनि आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *