भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस–०३ नामक भारी सञ्चार उपग्रहको सफल प्रक्षेपण गरेको छ ।
सीएमएस–०३ उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट आइतबार साँझ ५ः२६ बजे प्रक्षेपण गरिएको थियो भने यसको वजन चार हजार ४०० किलोग्राम रहेको र यो भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह ‘बहु–ब्यान्ड’ सञ्चार उपग्रह हो।
सन् २०४० सम्ममा भारतीय अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने चाहनामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपग्रह प्रक्षेपणपछि भने, ‘हाम्रो अन्तरिक्ष क्षेत्रले हामीलाई गौरवान्वित बनाइरहेको छ।’
उनले भने, ‘भारतको सबैभन्दा भारी संचार उपग्रह सीएमएस–०३ को सफल प्रक्षेपणमा इसरोलाई बधाई छ। हाम्रा अन्तरिक्ष वैज्ञानिकहरूद्वारा भएको यो कार्य प्रशंसनीय छ ।’
प्रधानमन्त्री मोदीले भने, ‘उहाँहरूको योगदानले हाम्रो अन्तरिक्ष क्षेत्र उत्कृष्टता र नवीनताको पर्याय बनेको छ। उनीहरूको सफलताले राष्ट्रिय प्रगतिलाई अगाडि बढाएको छ र अनगिन्ती जीवनहरूलाई सशक्त बनाएको छ।’
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)का अध्यक्ष भी नारायणनले अन्तरिक्ष यानको प्रक्षेपणपछि सीएमएस–०३ सञ्चार उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्याएको बताए ।
उनले भने, ‘म इसरोको सम्पूर्ण टीम र सबै साझेदारहरूलाई उनीहरूको भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ ।’
अध्यक्ष भी नारायणनले भने, ‘आर्थिक वर्षको अन्त्यसम्ममा थप सात भूउपग्रह प्रक्षेपण गरिनेछ । गगनयानको पहिलो मानवरहित मिसन पनि अन्तिम चरणमा पुगेको छ ।’
इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस–०३ उपग्रह बहु–ब्यान्ड सञ्चार उपग्रह हो।भारतीय नौसेनाले यो भू–उपग्रहले जहाज, विमान र पनडुब्बीबीच सञ्चार सम्पर्क सुरक्षित गर्न मद्दत गर्ने बताएको छ।
सीएमएस–०३ उपग्रहलाई ४३.५ मिटर (१४३ फिट) अग्लो एलभीएमथ्री–एम–फाइभ प्रक्षेपण यानबाट कक्षमा पठाइएको हो।
यो रकेटको उन्नत संस्करण हो जसले सन् २०२३ अगस्टमा चन्द्रमामा अवतरण गरेको भारतको मानवरहित यान प्रक्षेपण गरेको थियो।
