मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ केही वर्षदेखि मेडरी नाच युवाहरूलाई सिकाउँदै आउनुभएको छ । थारू समुदायको पौराणिक महत्त्व बोकेको मेडरी नाच लोप हुन थालेपछि दुलामणिसँगै पाका पुस्ता यसको संरक्षणमा जुटेका हुन् ।

थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला, सीप हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् । दुलामणि गुरौले अहिले मेडरी नाच समूहको नेतृत्वसँगै नाचको संरक्षणका लागि नयाँ पुस्तालाई पनि सिकाउन थालेका हुन् । पुरानो पाको पुस्ताकाले मात्र मेडरी नाचको जगेर्ना गर्न सम्भव नभएकाले युवालाई पनि सिकाउने पहल गरिरहेको गुरौले बताए ।

“मेडरी नाच्न धेरै जना हुनुपर्छ, अहिले धेरै हामी ७० वर्ष पार गरेका पाका पुस्ता छौँ, इच्छा देखाउने युवाहरूलाई पनि सिकाउँदै नाचमा जोडिरहेका छौँ”, उनले भने, “युवा पुस्तालाई यो नाचको महत्त्व बुझाउँदै सिक्न प्रेरित गरिरहेका छौँ ।”

हरेक वर्ष हरिबोधिनी एकादशीका दिन मध्यविन्दु नगरपालिका–३ लेडाहादेखि कावासोती नगरपालिका–१५ गुन्द्रहीसम्म धार्मिक विधिअनुसार नाच्दै जाने गरिएको छ । महाभारतमा आधारित मेडरी नाच थारू समुदायको ऐतिहासिक नाचमध्येको एक रहेको मेडरी नाच नचनिया गुरौले बताए ।

“मेडरी नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ”, उनले भने, “यो नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीता हरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँच पाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ ।”

थारू समुदायका अन्य नाच युवा पुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको स्थानीय गेनाराम महतोले बताए । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उनले भने, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।”

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताकासहितको ठूलो बाँसको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । यस नाचप्रति केही युवाहरूले चासो देखाएर सिक्न थालेको हुमबहादुर थनेतले बताए ।

“यस नाचका लागि आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवाहरूमा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ”, थनेतले भने । थारू समुदायको लाठीनाच र झाम्टा नाचप्रति युवा पुस्ताको आकर्षण देखिए पनि मेडरी नाच अहिले पनि पाका पुस्ताकै भर पर्नुपर्ने अवस्था रहेको छ । थारू संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्त्व रहेको चुनिलाल थनेतले बताए । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्त्व बिर्सिँदै गएको उनको गुनासो छ ।

“पहिलेपहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले मात्र नाच नचाउन गाह्रो हुन थालेको छ”, थनेतले भने, “अहिले केही युवाको सहभागिता बढ्न थालेको छ ।” थारू समुदायमा कृष्ण लीला र महाभारतमा आधारित मेडरी नाच मात्र देखाउने गरिएको छ भने सीता हरण नाच लोप हुने अवस्थामा पुगेको दुलामणि गुरौले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *