धौलागिरी सर्किटबाट फर्कने क्रममा बीच बाटोमा अलपत्र परेका १५ जना पर्यककको उद्धार

काठमाडौं । म्याग्दीको धौलागिरी सर्किट गई फर्कने क्रममा मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका १५ जना पर्यटकको शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

मुस्ताङ र म्याग्दीको सीमानामा पर्ने बतासेडाँडा नजिकैबाट उनीहरुको उद्धार गरिएको हो । तीन जना विदेशी र १२ जना नेपाली गरी जम्मा १५ जना पर्यटक धौलागिरी सर्किट गई फर्कने क्रममा कार्तिक ११ गते उनीहरु अलपत्र परेको भन्ने ट्राभल्स एजेन्सीद्वारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात कार्तिक १२ गते उनीहरुको उद्धारको लागि सुरक्षा निकाय त्यसतर्फ गएको थियो ।

मुस्ताङ्गको सदरमुकाम जोमसोमबाट पैदल हिँडेर जानुपर्ने भएको हुँदा उनीहरुको उद्धारमा केही समय लागेको हो ।

उद्धार गरी उनीहरुलाई मुस्ताङको सदरमुकाम जोमसोमतर्फ ल्याइँदै गरेको र उनीहरुको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *