सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावल जाँचबुझ आयोगका सदस्यसँग आक्रोशित भएपछि…(भिडियो)

धनगढी । जेनजी आन्दोलनमा भएको क्षतिको छानबनि गर्न गठित जाँचबुझ आयोगका सदस्यलाई सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले दुव्र्यवहार गरेका छन् । पूर्वमुख्यमन्त्री रावलले आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारीमाथि दुव्र्यवहार गरेका हुन् ।

बिहीबार आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारी अनुगमनमा कञ्चनपुर गएका थिए । आन्दोलनका क्रममा रावलको घरमा समेत आगजनी र तोडफोड भएको थियो । सदस्य भण्डारीको टोलीले रावलको घरसमेत निरीक्षण गरेको थियो । निरीक्षणपछि भीमदत्त नगरपालिकाको कार्यालयमा सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजन गरिएको थियो । कार्यक्रममा पूर्वमुख्यमन्त्री पुगेका थिए ।

कार्यक्रममा पुगेका रावलले जाँचबुक्र आयोगका सदस्यमाथि रावलले आफै ‘बोक्सी आफै धामी’ भएको आरोप लगाए । रावलले सदस्य भण्डारीमाथि आक्रोशसमेत पोखे । उनले पार्टी कार्यालय, व्यक्तिका घर, राष्ट्रिय सम्पत्ति जलाउने अपराधीहरुलाई कारबाही नगर्ने भन्दै आक्रोश पोखे । रावलले भने, ‘हु आर यु ? पार्टी कार्यालय, व्यक्तिका घर, राष्ट्रिय सम्पत्ति जलाउने, अपराधीहरुलाई कारबाही नगर्ने ?’

रावल त्यतिमै मात्र रोकिएनन् । उनले आयोगका सदस्यलाई अपराधीका संज्ञासमेत दिए । उनले आक्राशित हुँदै भने, ‘तपाईंहरू अपराधी हो । यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आएको हो तपाईंहरू ? मेरो बालबच्चाको हालत देख्नु भएको छ ? अहिले नाटक देखाउन आउनु भएको ? मेरो पार्टी कार्यालयमा आगो लगाइयो, घरमा आगो लगाइयो, के तमासा देखाउन आउनु भएको यहाँ ?’

रावल आक्रोशत भएपछि केहीबेर त्यहाँको स्थिति तनावपूर्ण बनेको थियो । तर रावल यसरी आक्रोशित भएपछि कार्यक्रम नै विथोलिएको थियो । पछि आयोगका सदस्य सीमित व्यक्तिसँग छलफल गरेर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *