बिपी राजमार्ग पुनर्निर्माणका लागि जापानले २ अर्ब ६० करोड अनुदान दिने

काठमाडौं । बिपी राजमार्ग पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जापान सरकारले २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गर्ने भएको छ ।

नेपाल सरकार र जापान सरकारबीच बिपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ । महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म १५९ किलोमिटर बिपी राजमार्गको लम्बाइ छ ।

यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो। गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए, जसमा विशेष गरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएका थिए ।

अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरेका छन् । त्यसैगरी, अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन् ।

अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक(सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

जापानी राजदुतले जापानले प्रदान गरेको यो अनुदान सहयोगले बिपी राजमार्गका क्षतिग्रस्त भागहरू पुनःस्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *