मोरङ । दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको खेलमा ‘ए’ डिभिजनसहितका आठ समूहको सहभागिता रहनेछ ।
आयोजक इन्ट्रा पथरी–११ फुटबल क्लबले बुधबार पत्रकार सम्मेलनमार्फत टाइसिट तथा ट्रफी सार्वजनिक गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रतियोगितामा सङ्कटा र न्यूरोड टिम (एनआरटी)सहित बिग्रेड ब्वाइज, सिराहाको सलहेस युवा क्लब, झापा–११ फुटबल क्लब, पाँचथर फुटबल क्लब, भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लब भारत र आयोजक इन्ट्रा पथरी–११ फुटबल क्लबले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए ।
गोल्डकपको विजेताले पाँच लाख नगद र ट्रफी प्राप्त गर्ने छन्भने उपविजेताले रु दुई लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद रु पाँच हजार पाउनेछन् । त्यस्तै, विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरर्वड र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १०–१० हजारका दरले पुरस्कृत गरिने अध्यक्ष विकले जानकारी दिए ।
उनका अनुसार पुरस्कार राशि गत वर्षको तुलनामा वृद्धि गरिएको हो । प्रथम गोल्डकपको विजेताले रु तीन लाख र उपविजेताले रु दुई लाख प्राप्त गरेका थिए । आयोजक क्लबले ‘स्थानीय खेलाडीको संरक्षण गर्दै देशलाई राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग’ गर्ने उद्देश्यका साथ विसं २०८१ देखि गोल्डकप आयोजना गर्न थालेको हो ।
फुटबलको उर्वरभूमि मानिएको मोरङको पथरी शनिश्चरेबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय टोली, महिला राष्ट्रिय टिम र ए डिभिजन क्लबमा वर्चस्व राख्दै आएका छन् ।
