भक्तपुरमा भव्य रूपमा मनाइयो छठ

भक्तपुर । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यस वर्ष पनि भक्तपुरदेखि ललितपुरसम्मको स्थानीयले भक्तपुरको पोखरी तथा खोलामा सोमबार साँझ छठ पर्व भव्य रूपमा मनाएका छन् । भक्तपुरको कमलपोखरीमा छठ मनाउन यस वर्ष भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।

छठ पर्वका अवसरमा भक्तपुरका पोखरी र खोला सिँगारिएका छन् । तराई–मधेसबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थानीय तथा अस्थायी रूपमा बस्दै आएकाले भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा भव्य रूपमा छठ मनाएका हुन् ।

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा २०० भन्दाबढी परिवारले छठ पर्व मनाएका छन् । यसका लागि पोखरी सिँगारेर झकिझकाउ बनाइएको छ भने पोखरीमा लगाइएको बत्तीहरूले झिलीमिली बनाएको छ ।

छठीदेवीको मूर्ति ल्याएर राखिएको भन्दै उक्त मूर्तिमा पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठ मनाएको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिए । छठ पर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाएर सामाजिक सद्भव व्यक्त गरेका उनले बताए ।

भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोलामा पनि सोमबार साँझ छठ मनाउन बाक्लो भीड लागेको जनकपुर घर बालकोट बस्दै आएका दशरथ ठाकुरले बताए । उनले गोदावरी खोला सिँगारिएर झकिझकाउ बनाएको र यहाँ भक्तपुरको बालकोट, सिरुटार र ललितपुरको टीकाली, चाँगाथलीदेखि सातदोबाटो क्षेत्रमा बस्दै आएका २०० भन्दाबढी परिवारले यही खोलामा छठ मनाएका जानकारी दिए । उनका अनुसार गोदावरी खोलालाई सिँगारेर झकिझकाउ बनाइएको छ ।

छठ पर्वका अवसरमा सोमबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन गरिने अध्यक्ष रौनियारले जानकारी दिए । तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पछिल्लो समय पहाडका साथै काठमाडौँ उपत्यकामा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे ।

रौनियारले भने, “तराई–मधेसबाट बसाइँ सरेर आउनुभएका, विभिन्न पेसा, व्यवसायले भक्तपुरमै बस्दै आउनुभएका जडीबुटीदेखि भक्तपुरसम्मका २०० भन्दाबढी परिवारका लागि छठ मनाएका छौँ । पोखरी झकिझकाउ भएका छन् । स्थानीयले सहयोग गर्नुभएको छ ।”

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइएको छ । छठको मुख्य दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी आज बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *