गुम्बाका विषयमा किन भ्रम ?

– लम्पट सयनाशक्तशिर ।

आजसम्म पनि धेरै नेपालीहरू, विशेषगरी हिन्दूहरू, गुम्बा भन्ने विषयमा गहिरो भ्रम बोकेर हिँडिरहेका छन् । भर्खर मैले ज्ञानेन्द्र शाहीको एउटा भिडियो हेरेँ, जसमा उनले ठोकुवा गर्दै भनेका छन्, ‘गुम्बामा मानिसलाई (अर्थात् हिन्दूलाई) जान दिइँदैन । हाम्रो पशुपतिमा त खुला छ’ यस्तो कुरा सरासर बकवास हो । उनले त्यो विषयको बारेमा जरोसम्म बुझ्ने प्रयास नगरी बोलेका छन् । आफूलाई थाहा नभएको विषयमा बोल्नु हुदैन। आफ्नै दृष्टिकोणलाई पनि प्रश्न गर्न सक्नु पर्छ।

साँचो कुरा बुझौं, पशुपतिनाथमा समेत सबैलाई प्रवेश खुला छैन। मन्दिरको गेटमै ठूला अक्षरमा लेखिएको छः ‘Only for Hindus’ ‘हिन्दूहरूका लागि मात्र।’ त्यसमाथि अरू धर्मका मानिस त परै जाऊन्, हिन्दूहरू नै मुख्य गर्भगृह भित्र पस्न र शिवलिङ्गमाथि प्रत्यक्ष पूजापाठ गर्न पाउँदैनन्। त्यो अधिकार केवल पशुपतिका भट्ट पुजारीलाई मात्र हुन्छ। राजभण्डारीहरू, जसले पुस्तौंदेखि पशुपतिको हेरचाह गर्दै आएका छन्, तिनीहरूलाई समेत त्यो अनुमति छैन। तर के कसैले भन्छ, ‘पशुपति त हिन्दूका लागि बन्द रहेछ’? कसैले भन्दैन ।

अब सोधौं, जब कुरा गुम्बाको आउँछ, तब किन यस्तो दोहोरो मापदण्ड ? गुम्बा कुनै साधारण मन्दिर होइन, यो आश्रम हो, धार्मिक तथा शैक्षिक संस्था हो। यहाँ ध्यान, शिक्षा र अनुशासन हुन्छ। गुम्बाभित्र खेन्पो (उपाध्याय), लोपेन (आचार्य) जस्ता गुरुहरू र भिक्षुहरूको निजी आवास हुन्छ। तपाईं कसरी नसोची उनीहरूको कोठा वा निवासमा पस्न सक्नुहुन्छ ? त्यो त मान्छेको घर वा साधुको ध्यानस्थलमा हाम्फाल्नु जस्तै हो। के तपाईँमा अलिकति पनि मानवीय गुण नभएको र मर्यादित सोच हराएको हो ?

धेरै गुम्बामा शेड्रा पनि हुन्छ, बौद्ध अध्ययनको विद्यालय वा महाविद्यालय। जस्तै कुनै विद्यालय वा आश्रममा नियम हुन्छन्, गुम्बाको पनि आफ्नै नियम, समय र मर्यादा हुन्छ। जो कोही पनि कहिल्यै पनि पस्न सक्दैन । आगन्तुकका लागि प्रक्रिया हुन्छ, जसरी कुनै शैक्षिक संस्थामा हुन्छ।

जब धेरै मानिस ‘गुम्बा’ भन्छन्, वास्तवमा उनीहरू ल्हाखाङ भन्ने मन्दिर भागलाई जनाइरहेका हुन्छन्। ल्हाखाङ सबैका लागि खुला हुन्छ, बौद्ध नभएका मानिसका लागि पनि, तर तोकिएको समयभित्र र नियमअनुसार । किनभने यो सार्वजनिक सम्पत्ति होइन, गुम्बाको स्वामित्वमा रहेको आश्रम÷गुठिको भाग हो। केही गुम्बा त निजी स्वामित्वका पनि हुन्छन्, जसले आफ्ना सम्पत्ति र प्रवेशको नियम निर्धारण गर्ने पूर्ण अधिकार राख्छन्। किनबेच पनि गर्न मिल्छ र अधिकार हुन्छ।

त्यसैले कुरा ठ्याक्कै बुझौं, गुम्बा ज्ञानेन्द्र शाहिले भनेको जस्तो ‘बन्द निषेधात्मक ठाउँ’ होइन; यो पवित्र, अनुशासित सामुदयिक स्थल हो। यसको नियमलाई मान्नु बहिष्कार होइन, सम्मान हो, परम्पराप्रति, बौद्ध साधुसन्तप्रति, विद्यार्थीप्रति र पवित्र स्थलप्रति सम्मान। कसैलाई दोषारोपण गर्नु अघि, आधा–अधुरा कुरा फैलाउनु अघि, पहिले बुझ्न जरुरी छ, गुम्बा कुनै रहस्यमय ठाउँ होइन, यो ज्ञान, ध्यान र साधनाको जीवित संस्था हो। यदि तपाईं पशुपतिनाथका नियमलाई स्वीकार गर्न सक्नुहुन्छ भने, गुम्बाका नियमलाई पनि गर्न सक्नुपर्छ। अन्ततः फरक यति मात्र छ, पशुपतिको ढोकामा लेखिएको छ ‘Only for Hindus’ तर गुम्बाको ल्हाखाङको ढोका जो कोही सत्यता र श्रद्धा लिएर आउँछ, उसका लागि सधैं खुला हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *