थामिसक्नु छैन मुस्ताङमा पर्यटकको चाप

मुस्ताङ । यस वर्षको तिहार पर्व भाइटीका सकिएलगत्तै हिमालपारीको जिल्ला मुस्ताङमा अनेपेक्षित बढ्दो पर्यटक आगमन सङ्ख्याले यहाँको पर्यटन व्यवस्थापनमा निकै चुनौतीपूर्ण बन्यो । बर्खायामको भेल जस्तै मुस्ताङमा एकैसाथ पर्यटक ओइरिँदा यहाँका पर्यटन व्यवस्थापन अस्तव्यस्त रह्यो ।

विगतका वर्षमा पनि दसैँ तिहार र छठ पर्वलगायतमा यहाँ आन्तरिक पर्यटकको आगमन उल्लेख्य रुपमा हुने गथ्र्यो । यस वर्ष युवाको जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र प्रतिकूल मौसमका कारण यहाँका पर्यटन व्यवसाय खासै चलायमान हुँदैन भन्ने लख काटिएको थियो । पर्यटक मुस्ताङ घुम्न आए पनि विगतका वर्ष जस्तो खासै चहलपहल हुँदैन भन्ने यहाँका पर्यटन व्यवसायले पूर्वानुमान गरेका थिए ।

देशको विषम परिस्थिति र सबै क्षेत्रको व्यवसाय धरासयी भइरहेको हुँदा नेपालीको कमाई नहुने र कमाई नहुने भएपछि घुमफिर गर्ने योजना पनि रोकिने बुझाई यहाँका पर्यटन व्यवसायीले गरेका थिए । तर, यहाँ पर्यटन व्यवसायीले गरेको पूर्वानुमान गलत सावित भइदियो । बिहीबारको तिहारको भाइटीका सकिएलगत्तै शुक्रबार र शनिबार मुस्ताङमा पर्यटकको बाढी नै आयो, जुन आज बिहानसम्म कायमै छ । जुन यहाँका पर्यटन व्यवसायीले कल्पनासम्म पनि गरेका थिएनन् ।

यहाँ हिमताल र हिमनदी पग्लेर बाढी आएको थिएन, न त बर्खायामको नियमित हुने भेल बाढी नै थियो । यो त मुस्ताङको सडक विकासले ल्याइदिएको पर्यटन क्षेत्रको नयाँ उभार थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङ उपत्यकालाई घुम्नै पर्ने सूचीमा पारेपछि मुस्ताङको पर्यटन क्षेत्रका नयाँ आयात नै थपिदियो ।

गत शुक्रबारदेखि राष्ट्रिय गौरवको निर्माणधीन (बेनी–जोमसोम–कोरला) सडकमार्गमा सवारीसाधनका लस्करले सडकमार्ग पूरै ढाकियो । म्याग्दी खण्डमा आधाजसो सडक कालोपत्र भएको छ भने आधाजसो सडक कालोपत्र छ । म्याग्दी र मुस्ताङको सीमाना घाँसादेखि मुक्तिनाथसम्मको सडकमा ९५ प्रतिशत सडक कालोपत्र भइसकेको छ । कागबेनीदेखि कोरलानाकासम्मको सडक ग्राभेल भए पनि सवारीसाधनका लागि आवतजावतमा निकै सहज भइसकेको छ । कोरला सडकको अधिकांश खोला, खोल्सीमा पुलपुलेसा निर्माण भइसकेकाले पोखरा–काठमाडौँलगायत सहरबाट मुस्ताङ आवतजावत गर्न कुनै समस्या छैन ।

उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक मार्गको तीव्र गतिको विकासले पर्यटकको ध्यान मुस्ताङतर्फ केन्द्रित भइरहेको छ । बडादसैँ, चैतेदसैँ औँसी र महत्वपूर्ण चाडपर्वमा आन्तरिक पर्यटकका लागि घुमफिरको केन्द्र बनेको छ मुस्ताङ । तिहारको भाइटीका सकेर मुस्ताङ हानिएका पर्यटकको चापले यतिबेला बेनी–जोमसोम सडकमार्ग र मुस्ताङको ट्राफिक व्यवस्थापन गर्नमा सुरक्षा निकायलाई निकै हम्मेहम्मे पर्यो ।

बेनी–जोमसोम सडकमार्गको म्याग्दी खण्डका केही स्थान र काभ्रेभिरलगायत सडकमा सवारीसाधनको लस्करले पर्यटकलाई गन्तव्यतर्फ प्रस्थान गर्न घण्टौँ समय लाग्यो । म्याग्दी र मुस्ताङको सिमाना प्रहरीचौकी घाँसामा मुस्ताङ भित्रिने सवारीसाधन र पर्यटक यात्रुको विवरण सङ्कलन गर्ने गरिन्छ । मुस्ताङ भित्रिएका सवारीसाधन र यात्रुको विवरण सङ्कलन गर्नमा त्यहाँ खटिएका प्रहरीहरुलाई निकै गाह्रो परेको छ । मुस्ताङ प्रहरीका अनुसार यो अहिलेसम्मकै ठूलो सङ्ख्यामा सीमित समयमा सवारीसाधन र यात्रु पर्यटक मुस्ताङ भित्रिएको दाबी गरिएको छ । भाइटीकापछि औसत आठ हजारको सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएको बताइएको छ ।

बर्खायामको भेल जस्तै मुस्ताङमा पर्यटक एकैसाथ ओइरिँदा पर्वतको कुश्मादेखि मुस्ताङको कोरलानाकासम्मका होटल पर्यटकले भरिभराउ भएका छन् । यहाँ आएका पर्यटकमध्ये ९९ प्रतिशत आन्तरिक र एक प्रतिशत विदेशी पर्यटक रहेका छन् । मुस्ताङ घुम्न आइपुगेका पर्यटक कतिपयले पहिल्यै होटल ‘बुकिङ’ गरेर आइपुगेका थिए भने कतिपय बुकिङ नगरी आफ्नै तरिकाले घुम्न आउँदा पर्यटन व्यवस्थापनमा समस्या र चुनौती देखापरेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले जानकारी दिए । अध्यक्ष लालचन तिहारपछि मुस्ताङका होटल बिहानैदेखि भरिभराउ भएकाले पर्यटकलाई बासस्थानको समस्या देखिएको बताउँछन् ।

त्यसो त मुस्ताङमा यतिका सङ्ख्यामा पर्यटक एकैसाथ ओइरिन्छन् भन्ने न त यहाँ आइपुगेका पर्यटकहरुले कल्पना गरेका थिए, न त यहाँका स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि र पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले नै कल्पना गरेका थिए । आखिर भइदियो त्यस्तै । तिहार सकेर मुस्ताङमा घुम्न र रमाइलो गर्न आएका कतिपय पर्यटकको बसाई सुखद रहेन । खल्तीमा पैसा भएर पनि यहाँ आइपुगेका पर्यटकहरु न राम्ररी सुत्ने बास सुविधा पाए, न त राम्ररी खान खाने सुविधा नै भयो ।

मन श्रेष्ठसहित चार जनाको टोली काठमान्डौँबाट मोटरसाइकलमा कोरला नाका जाने योजना बनाएर शनिबार जोमसोम आइपुगे । बिहान १० बजे जोमसोम आइपुगेका उनीहरु होटलमा कोठा खोज्न भौंतारिए । यतिन्जेलसम्म मुस्ताङका होटल पर्यटकहरुले खचाखच भरिएको थियो । जोमसोम, कागबेनी, मार्फालगायतका स्थानमा होटल खोज्दा समेत बास बस्ने होटलहरु भटिएन । मुस्ताङमा घुम्न र रमाउन आएका उनीहरुमा बास नपाउने देखिएपछि निरास बने । दुई/चार पैसा बढी तिरौँला बरु हामीलाई होटल खोजिदिनपर्यो भने स्थानीय पत्रकार मनिता थकालीसमक्ष अनुरोध गरे । स्थानीय पत्रकार थकालीले होटल नपाएको र कहीँकतै खाली भएमा सूचना दिनुहोला भनी सामाजिक सञ्जालमा पोस्ट गरिएपछि एक सामान्य स्तरको होटलमा जसोतसो व्यवस्था मिलाइएको थियो ।

यसैगरी, पोखराबाट झन्डै ४० विद्यार्थी लिएर मुस्ताङ घुम्न आएको टोलीसमेत साँझ जोमसोममा बास नपाउँदा बिचल्लीमा पर्नुपर्यो । मुस्ताङमा होटलमा बास नपाएपछि कति पर्यटकले सवारीसाधनमा रात कटाएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले तिहारपछि ठूलो सङ्ख्यामा पर्यटक मुस्ताङ ओइरिँदा होटल व्यवस्थापनमा समस्या परेको बताए । डिएसपी लामाका अनुसार ‘बुकिङ’ नगरी मुस्ताङ आएका पर्यटकले बास नपाउँदा यहाँका धर्मशाला, सामुदायिक भवन र होमस्टेलगायतमा लगेर राखिएको बताए ।

होटल बुकिङ नगरी उपल्लो मुस्ताङको भ्रमण गर्न गएका एक टोलीलाई लोमान्थाङस्थित आमा समूहको भवनमा लगेर राखिएको डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए । कोरला नाका अवलोकन गरी जोमसोम फर्किदै गरेको अर्को एक गाडी बीच माटोमै बिग्रिएपछि बिचल्लीमा परेका पर्यटकलाई छुसाङस्थित स्थानीयहरुको घरघरमा लगेर राखिएको डिएसपी लामाको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ र यहाँका सरोकारवाला निकायले दसैँ, तिहार र छठ पर्वका बेलामा मुस्ताङ घुम्न आउँदा अनिवार्य होटल बुकिङ गरेर मात्रै आउन पर्यटकलाई सुझाएको छ । होटल बुकिङ नगरी आउँदा बास नपाइने र होटल र विचौलियाबाट ठगिन सक्ने भएकाले मुस्ताङ भ्रमण गर्दा होटल बुकिङ गरेर मात्रै यात्रा सहज हुने जनाएको छ । मुस्ताङमा पर्यटकको चाप बढेपछि यहाँका कतिपय होटल मनोमानी रुपमा खान र बस्नमा चर्को मूल्य लिएको गुनासोसमेत गरिएको छ । पर्यटकले मुस्ताङ महँगो भएको र व्यवसायीले पर्यटकलाई मनोमानी पैसा असुल्ने गरेको गुनासो लेखेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गर्ने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *