उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं ।  जेनजी आन्दोलनपछि दसैँमा काठमाडौंका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा भने सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीको दाबी छ ।

‘तिहारको दिन काठमाडौं उपत्यकामा सामान्य खालका १६ वटा दुईपांग्रे सवारी दुर्घटना भएको रेकर्ड छ,’ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भने, ‘ट्राफिक प्रहरी प्रमुखसहितको टोली तिहारको दिन सडकमा खटिएको थियो, प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन ।’

उनका अनुसार मात्रै उपत्यकामा १९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् । साथै, १५ जना मानिस सामान्य घाइते भएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको थियो । उनले भने, ‘तिहारमा लापर्वाही तरिकाले सवारी चलाउनेविरुद्ध सिसी क्यामेराबाट निगरानी बढाइएको थियो, सडकमा ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति थियो ।’

उनका अनुसार भक्तपुर, ललितपुरहुँदै नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलङ्की, चाबहिलजस्ता व्यस्त क्षेत्रमा प्रहरीहरू निरन्तर सवारीसाधनको आवागमन व्यवस्थापनमा जुटेका थिए । उनले आफू स्वयम् पनि दिनभर सडकमा खटिएको बताए ।

‘भाइटीकाभन्दा ठूलो हाम्रो कर्तव्य हो, नागरिक र देशका लागि सडकमा खटिनु नै हाम्रो तिहार हो,’ प्रहरी प्रमुख अधिकारीले टोलीका सदस्यहरूलाई सम्बोधन गर्दै भने, ‘चाडपर्वका बेला सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउने बढी हुने भएकाले ट्राफिक प्रहरी सर्तक रहनु अत्यावश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *