नेपाल संवत् ११४६ प्रारम्भ, मुख्य सहरमा शुभकामना र्याली

काठमाडौँ । नेपाल संवत् ११४६ प्रारम्भ भएको खुसीयालीमा आज राजधानीलगायत देशभरका मुख्य सहरमा शुभकामना र्याली निकालिएको छ ।

विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा ¥याली निकालिएको हो । राजधानीका विभिन्न स्थानमा आज निकालिएको ¥यालीले सहर परिक्रमा गरिरहेको छ । ¥यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेशभूषामा खुसी साट्दै हिँडेको देखिन्छ ।

नेपाल संवत्लाई विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साःख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरु गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले बताए ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शङ्ख संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै कायम छ ।

यही परम्परा अनुसार मङ्गलबार बही खाता बन्द गरेका काठमाडौँ उपत्यकाका नेवार समुदायले आजदेखि नयाँ बही खाता खोलेका छन् । यसरी नेवार समुदायले नेपाल संवत्को नयाँ वर्ष मनाएका हुन् । विसं २०८० देखि नै नेपाल संवत्लाई सरकारी कागजातमा अनिवार्य रुपमा उल्लेख गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *