गाजा युद्धविराम सुदृढ पार्न अमेरिकी उपराष्ट्रपति भान्स इजरायलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले युद्धविराम उल्लङ्घन गरेमा त्यसलाई ‘नष्ट’ गर्ने चेतावनी दिएलगत्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्स नाजुक गाजा युद्धविराम सम्झौतालाई सुदृढ पार्न मङ्गलबार इजरायल आइपुगेका छन् ।

राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनर पहिले नै तेल अभिवमा उपस्थित थिए । त्यहाँ उनीहरूले हमासद्वारा दुई वर्ष कैदपछि रिहा गरिएका इजरायली बन्धकहरूलाई भेटे ।

“इजरायलमा स्वागत छ, उपराष्ट्रपति भान्स”, इजरायलको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा भान्स र उनकी पत्नीको आगमनको फोटोसहित लेखेको छ, “सँगै, प्रतिज्ञाको भूमिको जनताले बाँकी रहेका १५ जना बन्धकको रिहाइसहित शान्त र उज्यालो भविष्य सुनिश्चित गर्न सक्छन् ।”

भान्सले इजरायलमा विशेष दूत विटकफ, कुशनर र युद्धविरामको निगरानी गरिरहेका अमेरिकी सैन्य अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार उनले बुधबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका शीर्ष नेताहरूसँग पनि छलफल गर्नेछन् ।

इजरायलले आइतबार हमासले दुई सैनिकको हत्या गरेको र बन्धकहरूको शव हस्तान्तरण रोक्दै युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमणको लहर जारी राख्दै आफूले ‘नयाँ प्रवर्तन नीति’ लागू गरेको जनाएको थियो ।

संयुक्त राज्य अमेरिका अहिले ट्रम्पद्वारा मध्यस्थता गरिएको उक्त युद्धविराम सम्झौतालाई दीर्घकालीन स्थायित्व दिन थप प्रयासरत छ ।

“यो स्थिति लगातार उतारचढावमा छ । एकातिर राष्ट्रपति ट्रम्प इजरायललाई चाहेको कदम चाल्न अनुमति दिइरहनुभएको छ, तर अर्कातिर उहाँ अन्ततः युद्धविराम कायम रहोस् भन्ने पक्षमा हुनुहुन्छ”, अन्तर्राष्ट्रिय सङ्कट समूह (आइसिजी) की इजरायलका वरिष्ठ विश्लेषक मैराव जोन्जिनले भने, “प्रधानमन्त्री नेतान्याहुले दुवै दृष्टिकोण अपनाइरहनुभएको छ—शान्तिको पक्षमा बोल्दै, तर एकै समयमा गाजामा बमबारी जारी राख्दै सहायता वितरणमा सर्त लगाउने प्रयास पनि गर्दै ।”

ट्रम्पले पत्रकारहरूसँग भने, “म विश्वास गर्छु कि सम्झौता अझै कायम छ । हमासका लडाकूहरूले यसलाई उल्लङ्घन गरे के हुन्छ भनेर बुझिरहेका छन्—उनीहरू समाप्त हुनेछन्, र उनीहरूलाई त्यो थाहा छ ।”

हमासले दक्षिणी गाजाको रफाह सहरमा आइतबार बिहान भएको हिंसाबारे कुनै जानकारी नभएको दाबी गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ४५ जना प्यालेस्टिनी नागरिक मारिएका थिए । उक्त घटनापछि इजरायलले तीव्र हवाई आक्रमण गरेर प्रतिक्रिया दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *