काठमाडौं । राष्ट्रिय जेनजी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । हिराप्रसाद सेती अध्यक्ष रहने गरी आयोगमा निवेदन परेको हो ।
पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ । नयाँ दल दर्ताका लागि कात्तिक मसान्तसम्मको समय तोकिएको छ । समयसीमा नजिकिएसँगै दल दर्ताका लागि आयोगमा बुझ्न आउनेको संख्या बढेको छ । गत असोज ७ गते धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले दल दर्ताको निवेदन दिएका थिए ।
उनले श्रम संस्कृति पार्टी नाम राखेका छन् । उनले चुनाव चिह्न ‘माटोको ढिस्को’ माग गरेका छन् । राई सनाखतका लागि आइतबार आयोग पुगेका थिए ।
त्यस्तै, आयोगमा गतिशील लोकतान्त्रिक पार्टी दर्ताको निवेदन पनि परेको छ । दिनेश प्रसाईं अध्यक्ष रहेको पार्टीमा बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत पनि छन् ।