प्रज्जवल थापा । कोपा डेल रे अन्तर्गत भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा सेभिल्लाले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई जित दिलाउन जुलेस कोउन्डे र इभान राकिटिकले एक/एक गोल गरे । सेभिल्लाले दुवै हाफमा एक/एक गोल गरेको थियो । खेलको २५ औं मिनेटमा जुलेस कोउन्डेले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

यस्तै ८५ औं मिनेटमा ओलिभेर टोरेसको पासमा बार्सिलोनाका पुर्व मिडफिल्डर राकिटिकले गोल गर्दै सेभिल्लालाई २-० गोलको जित दिलाए । पाएका अवसर सदुपयोग गर्न नसक्दा बार्सिलोना हार बेहोर्न बाध्य भयो । दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा मार्च ३ मा हुनेछ ।
